अस्थायी बाँध फुटेपछि नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, टिपर डुब्यो

चितवन : भरतपुर महानगरपालिका-१६ स्थित शिवघाट क्षेत्रको नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
गिट्टी-बालुवा संकलनका क्रममा नदीमा बनाइएको अस्थायी बाँध फुटेपछि ती व्यक्ति नदीको बीचमा बनेको टापुमा फसेका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको टोलीले उद्धार कार्य थालेको थियो।
सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा गएको गोताखोरसहितको टोलीले डुंगा (बोट) प्रयोग गरी सबै २२ जनालाई सुरक्षित रूपमा बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त घटनामा गिट्टी-बालुवा ढुवानीका लागि प्रयोग गरिएको एउटा टिपर नदीमै डुबेको छ। प्रहरीका अनुसार उद्धार गरिएकाहरू सबै सकुशल छन्।
जेठ १६, २०८२ शुक्रबार ०९:२५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।