व्यापार अदालतको फैसला उल्टिएपछि ट्रम्पलाई राहत, सुनुवाइ पूरा नभएसम्म कर उठाउन पाउने

व्यापार अदालतको फैसला उल्टिएपछि ट्रम्पलाई राहत, सुनुवाइ पूरा नभएसम्म कर उठाउन पाउने

एजेन्सी : अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई गैरकानूनी घोषित गरेको म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशलाई रोक लगाएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिला अदालतले ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएकोमा संघीय पुनरावेदन अदालतले त्यसलाई उल्ट्याएको हो।

व्यापार अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार संसदलाई दिएको र राष्ट्रपतिको ‘अर्थतन्त्र सुधार गर्ने मनसाय’को लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो।

ट्रम्प प्रशासनले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्यो। पुनरावेदनमा प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौंदेखि चलिरहेको व्यापार वार्तालाई विथोल्ने खतरा रहेको बताएको थियो।

ट्रम्प प्रशासनले भन्यो, ‘विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाहरूले बनाउँछन्।’

यस मामिलामा संघीय पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गर्दै ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन जारी राख्न सक्ने छुट दियो।

मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ।

जेठ १६, २०८२ शुक्रबार ०८:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।