बेंग्लुरु नौ वर्षपछि आईपीएलको फाइनलमा, पञ्जाब आठ विकेटले पराजित

काठमाडौं : पञ्जाबलाई आठ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्समाथि ८ विकेटको सहज जित निकाल्दै बेंगलुरु उपाधिको नजिक पुगेको हो। १०२ रनको झिनो लक्ष्य बेंग्लुरुले १० ओभरमै भेट्टायो।
फिलिप साल्टले ५६ रनको अविजित पारी खेले भने कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे। मयंक अगरवालले पनि १९ रनको योगदान दिए।
पञ्जाबका बलरहरू केही प्रभाव जमाउन सकेनन्। काइल जेमिसन र मुशीर खानले १-१ विकेट लिएपनि बेंगलुरुको आक्रमणलाई रोक्न असमर्थ देखिए।
त्यसअघि टस हारेर ब्याटिङमा झरेको पञ्जाबको इनिङ्ग्स १४.१ ओभरमै १०१ रनमा धरासायी भयो। मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए भने प्रभसिमरन सिंह र अजमतुल्लाह ओमरजाइले समान १८-१८ रन थपे।
बेंगलुरुका बलिङ नायक बने जोश हेजलवूड र सुयाश शर्माले समान तीन-तीन विकेट झारे। यश दयालले २ विकेट लिए भने भुवनेश्वर कुमार र रोमारियो शेपहर्डले १-१ विकेट लिएर पञ्जाबको पारी समेट्न मद्दत गरे।
यसअघि आरसीबी सन् २०१६ यता पहिलोपटक फाइनलमा पुगेको हो। त्यसपछिका चार संस्करणमा प्लेअफसम्म यात्रा गरे पनि उपाधि भिडन्तसम्म पुग्न सकेको थिएन।
पहिलो क्वालिफायर गुमाउँदा पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छैन। उसले अब गुजरात टाइटन्स र मुम्बई इन्डियन्समध्ये विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। यो खेल शुक्रबार हुनेछ।
जेठ १६, २०८२ शुक्रबार ०७:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।