देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले गर्दा विभिन्न प्रदेशमा आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उच्च-पहाडी र हिमाली भू-भागमा पनि मौसम बदली रहने देखिएको छ। कोशी र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका यस्ता क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने उल्लेख छ।

आज राति पनि यस्तै मौसमको प्रवृत्ति जारी रहने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अन्य भागमा मौसम मुख्यतः सफा रहनेछ।

मौसमविद्‌हरूका अनुसार हाल सक्रिय रहेका पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको प्रभावका कारण आगामी केही दिनसम्म देशका विभिन्न भागमा छिटपुट वर्षाको सम्भावना रहन सक्छ। महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जेठ १६, २०८२ शुक्रबार ०७:१२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।