बजेट जनताको चाहना र राष्ट्रको आवश्यकता अनुसार ल्याइएको अर्थमन्त्रीको दाबी

बजेट जनताको चाहना र राष्ट्रको आवश्यकता अनुसार ल्याइएको अर्थमन्त्रीको दाबी
फाइल फोटो

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सरकारले स्रोतको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता समेट्ने गरी यथार्थपरक बजेट प्रस्तुत गरेको बताएका छन्।

बजेट प्रस्तुतिपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, 'विगतका कमजोरीहरू दोहोरिन नदिने, वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गर्ने प्रयाससहितको बजेट ल्याएका छौं। यो बजेटले वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्ने उद्देश्य राखेको छ।'

उनले बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी वृद्धिमा विशेष ध्यान दिएको बताए। “सीमित स्रोतलाई बढी प्रतिफल दिने कार्यक्रम र आयोजनामा केन्द्रित गरी विनियोजन गरिएको छ,” उनले भने।

बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल उच्च बनाउने, निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गर्ने, र स्टार्टअप, युवा तथा उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अर्थमन्त्रीको भनाइ छ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थन आवश्यक रहेको बताए। 

जेठ १५, २०८२ बिहीबार २१:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।