संघीय बजेटमा कर्णाली : रकम नखुलाएर पुराना योजनालाई निरन्तरता

संघीय बजेटमा कर्णाली : रकम नखुलाएर पुराना योजनालाई निरन्तरता

सुर्खेत : संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत कर्णाली प्रदेशका लागि पुरानै योजनाहरूलाई निरन्तरता दिएको छ। तर धेरैजसो योजनामा खर्च गर्ने रकम नै खुलाइएको छैन। नयाँ योजना नसमेटिएको यो बजेटले कर्णालीप्रति सरकारको दृष्टिकोण माथि फेरि एक पटक प्रश्न उठेको।

अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दा कर्णालीको विकासका लागि ठूला पूर्वाधार वा जलविद्युत् आयोजना भनेजस्तो देखिएका छैनन्। ‘कर्णाली करिडोर’, ‘१० औं राष्ट्रिय खेलकुद’ र ‘वीरेन्द्रनगर खानेपानी’बाहेकका योजनामा बजेटको निश्चितता देखिँदैन। कर्णाली राजमार्ग जस्तो जोखिमपूर्ण सडकलाई समेत प्राथमिकता दिइएको छैन।

बजेट भाषणमा ‘कर्णाली राजमार्ग, दैलेख-महावु, ताल्चा–रारा र रत्न राजमार्ग स्तरोन्नति’ गरिने उल्लेख भए पनि कति खर्च गरिने भन्ने प्रस्ट छैन। यिनै सडकहरू विगतका बजेटमै समावेश भएका थिए। कोहलपुर–सुर्खेत रत्न राजमार्गलाई चार लेन बनाउने योजना पुरानै हो, अहिले पनि छिन्चु बजारबाहेक अन्यत्र काम अघि बढेको छैन।

कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ। १० औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड छुट्याइएको छ। गत वर्ष राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट थियो। गत मंसिरमै प्रतियोगिता हुने भनिएपनि अहिलेसम्म हुन सकेको छैन।

प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्नका लागि एक अर्ब ३१ करोड विनियोजन गरिएको छ। भेरीको पानी राजधानी वीरेन्द्रनगरमा ल्याउन पम्पिङ प्रविधिबाट गत वर्षदेखि काम भइरहेको छ।  छिन्चु बसपार्क, रानीघाट—भुरीगाउँ सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका कुराहरू नयाँ बजेटमा समेटिएका छन्। त्यस्तै कर्णाली लगायतका तीन प्रदेशका उच्च पहाडी जिल्लामा बाली संरक्षण कार्यक्रम ल्याइएको छ।

समग्र तीन प्रदेशका लागि भनेर ८३ करोड रकम विनियोजन गरिएको छ।  अर्थमन्त्री पौडेलले दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यवसायिक उत्पादन सुरु गरिने बताएका छन्। यो पनि विगतकै योजना हो।  राराको पुर्वाधार तथा पदयात्राका लागि थोरै भएपनि समावेश गरिएको छ। तर त्यसका लागि बजेट खुलाइएको छैन। कर्णाली र भेरीमा र्याप्टिङ लगायतका गतिविधि गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने, सुर्खेतको प्रादेशिक विमानस्थल विस्तार गरिने जस्ता विगतकै कार्यक्रमहरु हुन्। सुर्खेत विमानस्थलक विस्तारको लागि स्रोतको सुनिश्चित नभएकै कारण विगतदेखि नै काम अगाडी बढेको छैन। आगामी बजेटमा पनि विस्तारका लागि बजेट खुलाइएको छैन।

सुर्खेतमा मेडिकल कलेज स्थापना सम्पन्न गर्ने कुरा पौडेलले पुनः बजेटमा उल्लेख गरेका छन्। आर्थिक वर्ष २०७२-२०७३ सालदेखि नियमित बजेट भाषणमा प्राथमिकतामा पर्ने सुर्खेत मेडिकल कलेज हालसम्म पनि बन्न सकेको छैन। अहिलेसम्म मेडिकल कलेजको कुनै काम अघि बढेको छैन। फेरि अहिले स्थापना गर्ने भनेर नयाँ बजेटमा उल्लेख गरिएपनि रकम भने खुलेको छैन। जलविद्युत्तर्फ जाजरकोटको नलगाड जलविद्युत आयोजनाको लागि लगानी ढाँचा बनाइने र डोल्पाको जगदुल्ला आयोजनालाई निर्माणमा लगिने बताइएको छ।

कर्णालीमा नियमित विद्युत् आपूर्तिका कोहलपुर-सुर्खेत-जुम्ला १३२ केभीए प्रसारण लाइन विस्तार गरिने नयाँ बजेटमा उल्लेख छ। तर, उक्त आयोजना पनि  यस अघिकै हो। भेरी बबई डाइभर्सनले पनि निरन्तरता पाएको छ। जुम्लामा हाईअल्टिच्युट तालिम सेन्टर निर्माण गरिने बताइएको छ। तर, बजेट खुलाइएको छैन। यी योजना पनि विगतकै हुन्। यी बाहेक कर्णालीमा कुनै नयाँ कार्यक्रम समावेश भएका छैनन्।

माथिल्लो कर्णाली, मुगु कर्णाली, फुकोट कर्णाली जस्ता जलविद्युत् आयोजनाबारे बजेटले छोएको छैन। जुम्लाको हिमा र तिला नदी किनार आसपास क्षेत्रलाई मार्सीधान कोरिडोर, सल्यानमा कृषि कोरिडोर जस्ता योेजना अहिलेको बजेटमा परेका छैनन्। त्यस्तै गत वर्ष कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड बजेट विनियोजन भएको थियो। तर, यो बजेटमा उक्त कार्यक्रमहरु हटेका छन्। बजेटमा सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रम रहेकोमा अहिले हटाइएको छ। कर्णालीका बजेट नै विनियोजन गर्नुपर्ने ठूला राजमार्ग तथा जलविद्युत आयोजनाहरूलाई यो बजेटले छोएको छैन। विकासका हरेक सूचकमा पछि परेको कर्णालीलाई संघीय सरकारको बजेटले उपेक्षा गरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए।

‘अहिलेका प्रधानमन्त्रीदेखि हरेक नेताहरू आउँदा कर्णालीलाई प्राथमिकता दिन्छौं भनेर भाषण गर्छन्,’ उनले भने, ‘तर कर्णालीलाई माथि उठाउनका लागि संघीय सरकारको बजेटले सम्बोधन गरेको छैन।’ संघीय सरकारको यस्तो उपेक्षाले १० औं वर्षसम्म पनि कर्णालीले विकासमा फड्को नमार्ने उनको भनाई छ ।

जेठ १५, २०८२ बिहीबार २१:४४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।