बालाजु बाइसधाराको ‘स्विमिङ पुल’ आइतबारबाट खुल्दै

काठमाडौं : बालाजु बाइसधारामा रहेको पौडी पोखरी आउँदो आइतबार देखि सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। पोखरीको पानीको गुणस्तर परीक्षण पूरा भएपछि अब आवश्यक जनशक्तिसहित पौडी खुला गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले पोखरी सञ्चालनका लागि नेपाल पौडी संघसँग सम्झौता गरेको आयोजनाका प्रमुख नवराज थापाले बताए। सम्झौताअनुसार संघले ५ जनाको जनशक्ति उपलब्ध गराउनेछ जसमा एक वरिष्ठ जीवनरक्षक, अनिवार्य एक महिला सहित ३ जना जीवनरक्षक र एक जना पानी प्रशोधन प्राविधिक रहनेछन्।
यी कर्मचारीहरू पोखरी सञ्चालन हुने दिन सेवाग्राही आउनु भन्दा १० मिनेट अघिनै उपस्थिति हुने र कार्य सम्पन्न भएपछि कार्यालय प्रमुखलाई विवरण बुझाएर फर्किने व्यवस्था गरिएको छ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि जारी गरेको आर्थिक ऐन अनुसार पौडीको शुल्क २०० रुपैयाँ तोकिएको छ। मासिक सदस्यता लिनेका लागि ४ हजार रुपैयाँ र सिजनल सदस्यताका लागि १२ हजार रुपैयाँ तोकिएको भए पनि सिजनको केही समय बितिसकेकाले सिजनल शुल्क नलिने योजना बनाइएको बाइसधारा उद्यान कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले बताए।
विद्यार्थीहरूले १५० रुपैयाँमा पौडी खेल्न सक्नेछन्। २० जनाभन्दा बढी विद्यार्थीको समूह भएमा प्रति विद्यार्थी १३० रुपैयाँ शुल्क लाग्नेछ। साथै, लकर सुविधा लिन चाहेमा ५० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ।
२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएर पानी चुहिन थालेपछि पुनःनिर्माण थालिएको थियो। कुल ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माणको काम ७ करोड ४३ लाख ३१ हजार रुपैयाँमा पशुपतिनाथ कन्स्ट्रक्सनले सम्पन्न गरेको हो। २०७९ असोज ५ गते सुरु भएको निर्माण २०८० चैत १९ मा सम्पन्न भएको हो।
पोखरी परिसरमा १५० जना अट्ने दर्शकदीर्घा, व्यवस्थित शौचालय, स्नानघर, लकर र काँडेतारसहितको सुरक्षा व्यवस्था गरिएको छ।
जेठ १५, २०८२ बिहीबार २०:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।