गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष लिङ्देन

गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको गणतन्त्र जनताको चाहना विपरीत कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। बिहीबार राजधानीमा आयोजित राजावादी आन्दोलनलाई सम्बोधन गर्दै उनले ‘मक्किएको गणतन्त्र’लाई जनताले अस्वीकार गरिसकेको दाबी गरे।

‘यो त आन्दोलनको सुरुवात मात्रै हो,’ उनले भने, ‘गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहनेछ। आजको जनसागरले देखायो- गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा। यो त जनमत संग्रहजस्तै भयो। जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन्, यो प्रमाणित भइसकेको छ।’

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत सत्ताका केही सीमित नेताहरूले जनतालाई शोषण गर्दै आफू र परिवारका सदस्यहरूका लागि सम्पत्ति थुपारिरहेको आरोप लगाए। उनले भने, ‘५–१० लाख रुपैयाँको सामान बोकेर नेताका परिवार हिँडिरहेछन्, तर जनता भने भोकभोकै बसिरहेका छन्।’

थापाले यस्ता राजनीतिक नेतृत्वले देश डुबाएको र अब विकल्प खोज्नुपर्ने समय आएको बताए।

राप्रपाले गणतन्त्र खारेज गरी राजसंस्थाको पुनःस्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेन्डा अघि सारेको छ।

जेठ १५, २०८२ बिहीबार १९:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।