आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरेका हुन्। यो चालु आर्थिक वर्षको लागि विनियोजित रकम भन्दा ५.६ प्रतिशतले बढी हो। संशोधित अनुमानको तुलनामा सरकारले १८.२ प्रतिशत अनुमानित बजेट विनियोजन गरेको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड र पूँजीगततर्फ ४ खर्ब ७ अर्ब १९ करोड विनियोजन गरेको बताए।
यसको आधारमा चालूतर्फ ६० दशमलव १ प्रतिशत र पूँजीगततर्फ २० दशमलव ८ प्रतिशत विनियोजित गरिएको हो। उनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ अर्ब अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन गरेको जानकारी दिए।
बजेटमा ऊर्जा तथा सिँचाई मन्त्रालयलाई ८६ अर्ब १ करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब, श्रम मन्त्रालयलाई ४ अर्ब २८ करोड,स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड, युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।
यसैगरी, शिक्षामा २ खर्ब ११ अर्ब,सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड, वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड, पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड, उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय ७ अर्ब ४९ करोड र कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ।
जेठ १५, २०८२ बिहीबार १७:२२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।