नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने प्रक्षेपण, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने प्रक्षेपण, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब

काठमाडौं : नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको समग्र आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्षको ३.६७ प्रतिशत वृद्धिदरसँग तुलना गर्दा यस वर्षको वृद्धिदर केही सुधार भएको देखिन्छ। कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

गण्डकी प्रदेशमा ५.५१ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा न्यून ३.३२ प्रतिशत मात्र वृद्धि हुने देखिएको छ। अन्य प्रदेशहरूको वृद्धिदर क्रमशः कोशीमा ३.३६ प्रतिशत, मधेसमा ४.५० प्रतिशत, बागमतीमा ५.१८ प्रतिशत, लुम्बिनीमा ४.७० प्रतिशत, र कर्णालीमा ४.७४ प्रतिशत रहने अनुमान छ।

सर्वेक्षणअनुसार पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र आपूर्ति शृङ्खला सहज भइरहेकाले उपभोक्ता मुद्रास्फीति दर ४.७२ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको ६.०८ प्रतिशत भन्दा कम हो। कुल उपभोगको हिस्सा कुल गार्हस्थ उत्पादनमा ९३.४५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

आर्थिक सर्वेक्षणमा वित्तीय पक्षमा समेत सुधार देखिएको छ। सङ्घीय सरकारको वित्तीय घाटा घट्दै गएको छ, चालू आर्थिक वर्षको फागुनसम्मको घाटा १६ अर्ब १९ करोड रुपैयाँ मात्र देखिएको छ। सङ्घीय सरकारको राजस्व सङ्कलन ११.४ प्रतिशत वृद्धि भई ९ खर्ब २९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने खर्च २ प्रतिशत घटेर १३ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ। कुल सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

विद्युत् उत्पादन ३,६०२ मेगावाट पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको पहुँच देशभरका सबै स्थानीय तहमा विस्तार भएको छ। बैङ्किङ कारोबारमा डिजिटल कारोबारको हिस्सा बढ्दो क्रममा छ।

विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या पनि ३ लाख १७ हजार ६३ पुगेको छ। पर्यटन क्षेत्रबाट पनि सकारात्मक सङ्केत देखिएको छ। चालू आर्थिक वर्षको फागुनसम्म ७ लाख ९८ हजार ५१० पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशत वृद्धि हो।

सर्वेक्षणमा नेपालले विकासशील मुलुकको मापदण्ड पुरा गरेको उल्लेख गरिएको छ। मानव विकास सूचकाङ्क ०.६२२ मा पुगेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सामाजिक सूचकमा समेत सुधार भएको देखिन्छ।

जेठ १५, २०८२ बिहीबार १४:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।