नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुग्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ।
औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको र चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको सर्वेक्षण सार्वजनिक गरे। नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने उनले संसद्मा जानकारी दिए।
प्रदेशगत रूपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि छ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड छ। सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ।
२०८१ फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत बढेको र बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको उनले जानकारी दिए।
चालु आवमा उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको तथा वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको उनले बताए।
सर्वेक्षण अनुसार कुल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ। मानव विकास सूचकाङ्क बढेर ०.६२२ पुगेको र शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत छ।
जेठ १५, २०८२ बिहीबार १४:४७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।