गणतन्त्र विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

काठमाडौं : एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका बिचौलियाका निम्ति मात्रै भएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताए।
उनले भने, ‘यो गणतन्त्र केहीमुठ्ठि भरका बिचौलियाको निम्ति थिएन। यो गणतन्त्र मुठ्ठिभरका दलाल पूँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन। यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरूको हितका निम्ति स्थापित गरिएको थिएन। अहिले देशको गणतन्त्र आम जनताको लागि छैन। अहिले मुठ्ठिवादी दलालपूँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ। देशका शोषकहरूको गणतन्त्र बनिरहेको छ। जनताको गणतन्त्र बन्न सकिरहेको छैन।’
साथै उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए। उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए।
उनले भने, ‘अहिले एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ। धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ। एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्।’
खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे।
जेठ १५, २०८२ बिहीबार १४:४५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।