सोनु निगमका साथी प्रदीपको हिजोको कुरा : स्कुल पढ्दा थर लुकाएँ; अपमानित नहुन धेरै नेपालीले ‘शर्मा’ लेख्थे

काठमाडौं : ५९ वर्षअघि भारतको हरियाणास्थित फरिदाबादमा जन्मिएका हुन्- प्रदीप ढकाल। नेपाली फिल्महरू ‘निर्भय’, ‘उर्वशी’, ‘मुखौटा’, ‘वरिष्ठ बलराम’, ‘कर्मा’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका उनी अभिनित केही फिल्म प्रदर्शनको तयारीमा पनि छन्।
भारतमा जन्मिएका उनको बाल्यकाल र किशोरावस्था फरिदाबादमै बित्यो। त्यस क्रममा अहिलेका चर्चित भारतीय गायक सोनु निगम उनको साथी थिए। भारतीय रेलवेबाट बुवाको अवकाशपछि मात्र प्रदीप नेपाल फर्किएर बुटवलमा बस्न थाले। त्यहीँको स्थानीय रेडियोमा विज्ञापनमा आवाज भर्ने काम गर्दै उनी टेलिभिजनका सिरियलमा प्रवेश गरे।
बुटवलमा रहेको रेडियोमा काम गर्दा उनले उर्दु भाषाको कार्यक्रम चलाउने मौका पाए। तत्कालीन विद्रोही माओवादीको त्रास भने कायमै थियो। तर, पछि उनको कार्यक्रमका स्थानीय माओवादीहरू पनि फ्यान भए। स्थानीय टेलिभिजन हुँदै नेपाली फिल्ममा प्रवेश गरेका उनले अभिनय गरेर प्रदर्शनमा आएको पछिल्लो फिल्म ‘कर्मा’ हो।
उनले आफ्नो ५९ वर्षको उमेरसम्म भारतमा बिताएका बाल्यकाल, देखे-भोगेका अनुभवलाई उकेराको नियमित स्तम्भ ‘हिजोको कुरा’मा यसरी सुनाएका छन्:
स्कुलका साथी सोनु निगम : म बाजा बजाउँथेँ, ऊ गाउँथ्यो
मेरो बुबा कास्कीमा जन्मनुभएको हो। त्यो समयमा भारतमा काम गर्ने चलन थियो। नोकरीका लागि बुबा भारत जाँदै आउँदै गरिरहनुभएको रहेछ। भारतमा बुबाले ह्याबल्स कम्पनीमा काम गर्दै गर्दा हड्ताल भएछ। त्यहाँ हड्ताल भएपछि बुबा रेलवेमा सर्नुभएछ। त्यसपछि गाउँमा आएर बुबाले विवाह गरेर फेरि भारत फर्कनुभएछ। म नेपालको भए तापनि मेरो बुबा भारतमा नै नोकरी गर्ने भएकाले उतै जन्मिएको हो। हरियाणा प्रान्तको फरिदाबाद डिस्ट्रिक्टमा वि.सं. २०२३ सालमा जन्मिएको हो।
तीन जना दाजुभाइमध्ये अहिले म मात्रै छु। दाजु र भाइको निधन भइसकेको छ। म भारतमा नै हुर्किएँ। मैले त्यहाँ प्लस टु सम्म अध्ययन गरेँ। मेरो क्लासको साथी थियो- अहिलेको चर्चित गायक सोनु निगम। म सङ्गीतका बाजा बजाउँथेँ, सोनु गीत गाउँथ्यो। मेरो पनि गायनमा रुचि थियो। तर, उसका अगाडि गीत गाउने मौका मिल्दैनथ्यो। प्रायः उसले किशोर र रफीका गीत गाउँथ्यो। म भने मुकेशका गीत गाउँथेँ। हाम्रो कक्षाको सेक्सन फरक भए पनि हाफ टाइममा सँगै हुन्थ्यौँ र गीत गाउन थाल्थ्यौँ।
कक्षामा हुँदा स्कुलमा हुने साङ्गीतिक कार्यक्रमहरूमा समेत सहभागी हुन्थ्यौँ। ऊ अलि बढी कार्यक्रममा गाउन जान्थ्यो। उसको गिटारिस्ट थियो, एक जना बङ्गाली। त्यसले मलाई के भन्थ्यो भने ‘तिमी पनि गाना गाऊ’ भन्थ्यो। उसले मलाई अर्को साङ्गीतिक समूह ‘तिलक’को टिममा काम लगाइदियो। उनीहरूले मलाई विवाह पार्टीहरूमा गाउने/बजाउने काममा लगाए। जन्तीहरूले खुब आनन्द लिऊन् भनेर त्यो समयमा भारतका धनाढ्यहरूको विवाहमा गाउनेबजाउनेहरूको माग हुन्थ्यो। त्यसमा म पनि पर्थेँ।
तिलकको टिमले पनि मलाई धेरैजसो गायनमा ‘नोट’ उठाउने काममा राखे, गाउन मौका नै दिएनन्। ‘तिमीलाई गाउन दिउँला’ भन्थे तर कहिल्यै गाउने मौका नै दिएनन्। उनीहरूका अगाडि म निरीह जस्तै देखिन्थेँ। बजाउने कुरामा म अगाडि नै थिएँ। ठूला-ठूला गायक गायिकाले गाइहाल्थे, मलाई मौका नै दिँदैनथे। एक दिन के भयो भने, रेलवेका हाकिमको छोराको विवाह पार्टीमा गीत गाउनका लागि सबैलाई निमन्त्रणा गरिएको थियो। उक्त पार्टीमा हाम्रो टिमका जो मुख्य गायक (भोकालिस्ट) थिए, उनी आउन ढिला गरे। बिहे भोजमा आएका मान्छेहरूले ‘म्युजिक खोई’ भनेर हुलदङ्गा गर्लान् जस्तो गरेर हल्ला मच्चाउन थाले।
त्यसपछि तिलकको टिमले मलाई ‘सबै मान्छेहरू हामीसँग रिसाइसके, तिमीले भए पनि गाना गाएर पब्लिकलाई मनोरञ्जन दिलाऊ’ भने। म खुशीले गद्गद् हुँदै स्टेज चढेँ। मुकेशको ‘ओ रे ताल मिले ना’ गीतबाट गाउन सुरू गरेँ। एकपछि अर्को गीत गाउन थालेँ। उपस्थित धेरैले मेरो गायन मन पराए। इनाम पनि पाएँ। यस्तै कार्यक्रममा सहभागी हुन थालेपछि मेरो ध्यान पढाइमा भन्दा पनि गायनमा बढी गयो। पढाइ पनि छोडेँ।
त्यसबेला घरमा भन्दा बढी यस्तै विवाह पार्टी र कार्यक्रममा बास हुन थालेपछि मेरो दाइले ‘यो यस्तै हो, नाचगानतिर बढी लागेको छ’ भन्दै पढाउनका लागि जोड गर्नुभएन। दाइले वास्ता गर्न छोडिदिनुभएपछि मैले पनि प्लस टु पछि पढाइ छोडिदिएँ। पछि घाँटीमा समस्या आएर अप्रेसन गरेपछि डाक्टरले ‘गीत नगाउनू, अभ्यास नगर्नू’ भनेकाले गाउन छाडेँ। कार्यक्रम उद्घोषणमा भने बिस्तारै अभ्यस्त भएँ। मलाई त्यो समयमा एक दिन कार्यक्रम चलाएको तीन सय रुपैयाँ पाउँथेँ।
सोनु मेरो क्लासको मिल्ने साथी थियो। म सेक्सन ‘ए’मा थिएँ भने उसको ‘बी’ थियो। तीन-चार जनाको टिम थियो। हामी प्रायः स्कुलको क्यान्टिनमा भेट्थ्यौँ। केटा साथीहरू चुरोट, पकौडा खान्थे। म खादैनथेँ अनि त्यो समयमा ‘ल सोनु अब गीत सुना’ भनेर अह्राउँथ्यौँ। उसले गाउन थाल्थ्यो। कहिलेकाहीँ मलाई भन्थ्यो, अरूले पनि गाउन उक्साउँथे। मैले पनि गाउँथें। हाम्रो दोस्ती करिब एक वर्ष रह्यो।
एक दिन गुलशन कुमारले गायनका लागि अडिसन खुलाए। क्यासेटमा गीत रेकर्ड गराएर राख्नका लागि। त्यसमा सहभागी हुन सोनुसहित तीन जना गएका थिए। त्यसमा सोनु पास भयो। अर्को सचि देवा नामको एक जना थियो, त्यो पनि पास भयो। पास भएपछि सोनुले पढाइ छाडेर यसतर्फ लागे। उसका बुबाले फरिदाबाद छाडेर सिधै मुम्बई गए। त्यसपछि हाम्रो कहिल्यै भेट भएन। किनभने म त्यहीँ कार्यक्रम गर्दै हिँडेँ। ऊ मुम्बई पुगेर प्रगति गरे। ऊ कला क्षेत्रमा प्रगति गरेर माथि गइसकेको छ। यसमा खुशी पनि लाग्छ। मेरो बुबा पनि रिटायर्ड भएपछि बुटवल आएर घर किन्नुभयो। यतै बस्यौँ।
अपमानित हुने डरले ढकाल थर लुकाएर शर्मा लेखेँ
त्यो समयमा के थियो भने, दिल्लीमा नेपाली भनेपछि ‘बहादुर बहादुर’ भनेर जिस्क्याउने चलन थियो। नेपालीहरूलाई धेरै हेप्थे। त्यसैले मैले आफू नेपाली हुँ भन्दैनथेँ। बुबाले पनि स्कुलमा नाम लेखाउँदा प्रदीप ढकाल नलेखाएर शर्मा लेखिदिनुभयो। मैले पनि शर्मा नै लेख्थेँ। आधार कार्डमा पनि त्यही नै थियो। हामी बसेको गान्धी कोलोनी, फरिदाबादमा भने केहीलाई हामी नेपाली हौँ भन्ने थाहा थियो। तर, उनीहरूले कहिल्यै नराम्रो व्यवहार गरेनन्।
हामीलाई ‘बहादुर’ भन्दा नराम्रो लाग्थ्यो, उनीहरूलाई सायद राम्रो लाग्थ्यो होला। उनीहरूले हामीलाई ‘बहादुर’ भन्दा ‘उसलाई कायर किन भनिस्’ भन्ने खालको कुरा हुन्थ्यो। ‘बहादुर’ भन्नुको मुख्य कारण के थियो भने, नेपालीहरू चौकीदारी गर्थे। अनि ‘जी साब’ भन्दै नेपालीहरूलाई जिस्क्याउँथे। ‘तिमीहरू सबै चौकीदार त हौँ, नेपालबाट आएका’ भन्ने सोच उनीहरूमा थियो। ‘बहादुरी’ भन्दै चौकीदारको ट्याग भिराइदिन्थे।
त्यो समय र अहिले त धेरै फरक भएको छ। पहिलाको तुलनामा अहिले धेरै सहज छ। त्यतिबेला नेपालीलाई ‘बहादुर’ त भन्थे, तर व्यवहार भने चौकीदारकै जस्तो गर्थे। नेपालबाट भारतमा गरिब र दुःखीहरू जाने अनि उनीहरूलाई राम्ररी लुगा लगाउन पनि नआउने भएकाले भारतीयले हेप्थे।
नेपालीले टोपी र दौरा सुरुवाल लगाएर दिल्लीको सडकमा हिँड्ने गर्थे। अनि त्यहाँका मान्छेहरूले ‘नेपाल देशका मान्छे त सोझा साझा रहेछन्’ भन्थे। गाह्रो कामहरू नेपालीलाई दिन्थे। कसैलाई मालिकको घरमा काम गर्ने, कसैलाई ड्राइभरको काम दिन्थे। अधिकांशलाई चौकीदारीको काम दिन्थे।
‘पहिला इन्डियन भन्थे अहिले धन्न तराईको भन्न थाल्या छन्’
काम सानो-ठूलो नहुने भए पनि भारतीयहरूले बच्चाबच्चीलाई पनि ‘ओए बहादुर’ भनेर बोलाउँथे। यस्तो किसिमको सोच भारतीयहरूमा नेपालीहरूप्रति देखेका थियौँ। त्यसैले धेरै समय आफ्नो परिचय लुकाएर बसियो। नेपाल आएपछि प्रदीप शर्मालाई ढकाल बनाइयो। नेपाली पढ्न र बुझ्नका लागि पत्रपत्रिका पढेँ। अहिले राम्रो छ।
मेरो बोल्ने लवज तराई क्षेत्रमा बस्ने नेपालीहरूको जस्तै छ। त्यसैले धेरै मान्छेहरू मलाई ‘यो तराईको हो’ भन्छन्, मधेशी भन्छन्। पहिला त मलाई इन्डियन भन्थे, अनेक कुरा भन्थे। अहिले धन्न तराईको भन्न थालेका छन्।
भारतमा हुँदा मलाई नेपाली भाषा कसैले पनि बोल्न सिकाएनन्। न बुबाआमाले सिकाउनुभयो, न सिक्ने कोसिस नै गरेँ। न त भारतमा कसैले नेपाली भाषा बोल्थ्यो। बुबा रिटायर्ड भएपछि ‘हाम्रो त नेपालमा घर हो’ भन्नुभयो। कुराकानी हिन्दी भाषामै हुन्थ्यो। अनि बुबा रेलवे कर्मचारीबाट अवकाश भएपछि ट्रकमा सामान लोड गरेर बुटवल आइयो। यही आदर्शनगरमा मामाले ३ लाख ९० हजार रुपैयाँमा घर किन्न सहयोग गर्नुभयो।
भारतमा हुँदा हामी नेपाली हौँ भन्ने थाहा थियो। तर, कसैले पनि नेपाली भाषा बोल्दैनथे। एक-दुई पटक बुबाले आफ्नो घर कास्की र मामाघर नेपाल हो भनेर कुरा निकाल्नुहुन्थ्यो। तर, भारतमा हुँदा बुबाले छिमेकीलाई घुम्न हिँडेको भन्नुहुन्थ्यो, नेपाल हिँडेको भन्नुहुँदैनथ्यो। नेपालमा २/४ दिन बस्दैमा हामीमा नेपाली भाषाको खासै प्रभाव परेन।
नेपाल आएपछि मैले बिहे पनि गरेँ। परिवार चलाउन कुनै काम पाइनँ। सायद ३८ वर्षको थिएँ म त्यतिबेला। बुटवलमा आएपछि एउटा ब्रेक सु सप्लायर्सको प्राइभेट फर्ममा काम पाएँ। मोटर पार्टपुर्जा बनाउने भारतीय कम्पनी थियो त्यो। हिन्दी र नेपाली दुवै भाषा जानेको मान्छे चाहिएको थियो। कम्पनीले नेपालभरि घुमेर ब्रेक सु लगायतका सामग्रीहरू आपूर्ति गर्थ्यो।
म नेपाली भाषा त्यति राम्रो बोल्न जान्दैनथेँ। कम्पनीका हाकिमले कम्पनीको काम त छँदै थियो, आफ्नो घरायसी काम पनि लगाउँथे। केही त गरेँ तर अत्ति भएपछि मलाई यो जागिर मन परेन, छोडिदिएँ। आमाबुबाले नै पाल्नुभएको थियो, कमाएर पाल्नुभएकोले त्यही बानी परेको थियो। छोराछोरी पाल्नका लागि केही न केही त गर्नुपर्यो।
अनि बुटवल एफएमको पत्रिकामा ‘रेडियोमा कार्यक्रम चलाउने आवश्यकता’ भन्ने विज्ञापन देखेँ। यो रेडियोमा कहिलेकाहीँ चिठी लेखेर ‘किशोर कुमारको गीत सुन्न चाहन्छु’ भन्थेँ त्यो बज्थ्यो पनि। ‘आमा, मेरो नाम आयो’ भनेर म एकदमै खुशी हुन्थेँ। एकदिन त्यही रेडियोमा कार्यक्रम चलाउने हिसाबले गएँ।
‘नेपाली बोल्न नजान्दा धोतीसमेत भनेँ’
रेडियोमा काम गर्दा त कतिपयले ‘किन राखेको होला यो धोतीलाई’ समेत भने। मैले राम्रो काम गर्न खोज्दा कतिपय जल्थे। फिल्म ‘मुखौटा’मा लवजका कारण कुनै समस्या भएन। मलाई कसैले पनि यस्तो उस्तो भनेर लाञ्छना र आक्षेप लगाएनन्। मैले नेपालीमा नै डाइलग बोलेँ। तर, निखिल उप्रेती अभिनित फिल्म ‘निर्भय’मा भने मेरो स्वरको डबिङमा समस्या भयो। मैले एसएसपीको भूमिका (रोल) गरेको छु।
यसका निर्देशक मधुसुदन भट्टराईले यो फिल्मको डबिङ गर्ने बेला भन्नुभयो, ‘फिल्म त गरियो ढकाल सर, तपाईंले विशुद्ध नेपालीमा बोल्नुहोस्।’ बेला-बेलामा मेरो हिन्दी लवज आइहाल्थ्यो। त्यति डबिङका लागि चार घण्टाभन्दा बढी समय लाग्यो। योभन्दा अघिल्लो फिल्म ‘उर्वशी’मा अहिलेको जस्तो राम्रो नेपाली लवज थिएन। यसमा भने अरूले नै डब गराउनुभएको थियो। अहिले भने डबिङमा कुनै समस्या छैन।
बुटवलमा रहेको एउटा टेलिभिजनमा टेलिसिरियल ‘घर संसार’को इन्स्पेक्टरको भूमिकाका लागि अफर आयो। त्यसको २/३ एपिसोड खेलेपछि मेरो पश्चिमाञ्चल क्षेत्रमा चर्चा हुन थाल्यो। आफूले आफैँलाई टिभीमा देखेर म छक्क परेँ। रेडियोबाट सिरियलमा आफूलाई भविष्य देख्न खोजेँ।
अनि एकदिन अचानक बुटवलका युवा प्रतिभाका रूपमा परिचित मनिष पन्तसँग मेरो भेट भयो। उहाँले फिल्म ‘उर्वशी’, ‘डिभोर्स’, ‘हाम्री चेली’ निर्माण गर्नुभएको छ। यी तीनवटै फिल्ममा अभिनय गर्ने मौका पाएँ। उहाँकै पहलमा मैले यसअघि नै झरना थापा र सुमन सिंह अभिनित एउटा फिल्ममा अभिनय गरिसकेको थिएँ।
अचानक अर्पण थापाको फिल्म ‘मुखौटा’मा अभिनयका लागि अफर आयो। काठमाडौं आउजाउ गरिरहेको बेला अर्पण थापाको ‘मुखौटा’का लागि अभिनयका लागि फोन आयो। यो फिल्मका लागि खोजिरहेको क्यारेक्टर (पात्र) फेला पार्नुभएको रहेनछ। मान्छे नपाएपछि त्यो क्यारेक्टर नै हटाउने सोचमा हुनुहुँदो रहेछ। कहिलेकाहीँ कुनै कुरा जुर्दो रहेछ।
अचानक मैले कास्टिङ निर्देशकलाई फोटो पठाएको थिएँ। के भएछ भने, ल्यापटप खोलेर बसिरहेको बेला अर्पणले मेरो फोटो देख्नुभएछ। ‘यो को हो?’ भन्नुभएछ। ‘यो प्रदीप ढकाल हो, बुटवलको कलाकार हो’ भन्ने जवाफ पाएछन्। त्यसपछि फोन गर्नुभयो। ‘उहाँले खोजेका पात्र लम्बु दाइ यही हो, मेरो क्यारेक्टर भेटियो’ भन्नुभएछ। त्यसपछि मलाई अर्पण थापाको फोन आयो।
‘तपाईं कहाँ हुनुहुन्छ, तुरुन्त काठमाडौं आउनुहोस्’भनेर बोलाएपछि ठमेलमा भेट भयो। सर, अडिसनको कुरा गरेँ। उहाँले ‘पर्दैन, तपाईं अडिसनमै पास हुनुभयो’ भनेर त्यो फिल्ममा अभिनय गर्ने मौका दिनुभयो। त्यो फिल्ममा मलाई २५ हजार पारिश्रमिक पनि मिल्यो। जबकि यसअघिको कुनै फिल्ममा एक पैसा पनि पाएको थिइनँ।
जेठ १५, २०८२ बिहीबार १४:४४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।