एमाले र राजावादीको प्रदर्शनले काठमाडौं महानगरको ‘सीप मेला’ रोकियो

एमाले र राजावादीको प्रदर्शनले काठमाडौं महानगरको ‘सीप मेला’ रोकियो

काठमाडौं : काठमाडौं महानगरपालिकाले दोस्रो संस्कारणका रुपमा सञ्चालन गरिरहेको सीप मेला आजका लागि रोकिएको छ।  

गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रमहरूले सवारी आवागमनमा समस्या हुने देखिएको र यसकारण प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई कक्षामा आउन जान कठिन हुने भएकाले आजको कक्षा बन्द गर्नु परेको सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले बताए। 

झाका अनुसार भोलिदेखि कक्षाहरू नियमित रुपमा सञ्चालन हुनेछन्। कामपाले गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्ष २०८१ जनालाई तालिम दिने लक्ष्य राखेर जेठ ७ गतेदेखि मेला थालिएको हो। १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भइरहेका छन्।  

आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, एआई र एआई एन्ड इट्स एप्लिकेसन गरी १२ पेसा छन्। ब्युटिसियन क्षेत्रमा विक्स सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने पेसा छन् । 

विशेष क्षमता सहयोगी तालिम यस वर्ष थपिएको क्षेत्र हो। यसअन्तर्गत हाउस किपिङ र केयर सर्भिस गरी दुईवटा पेसाका तालिम चल्नेछन् । हाउस किपिङ बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो। इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चारवटा पेसाका तालिम हुनेछन्।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुईवटा पेसाका तालिम हुनेछन्। कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम हुनेछ। हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार पेसाका तालिम हुनेछ। अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत तीनवटा पेसाका तालिम सञ्चालन हुनेछ। यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ। 

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ। स्टक मार्केटसम्बन्धी तालिम हुनेछ।   

जेठ १५, २०८२ बिहीबार १४:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।