गङ्गा दशहरा पर्वमा सहभागी हुन गोसाइँकुण्डमा तीर्थ यात्रीको भिड, समस्या पर्दा उद्धार गर्न विशेष टोली

गङ्गा दशहरा पर्वमा सहभागी हुन गोसाइँकुण्डमा तीर्थ यात्रीको भिड, समस्या पर्दा उद्धार गर्न विशेष टोली

रसुवा : गङ्गा दशहरा पर्वमा गोसाइँकुण्डमा सुरु भएको मेलामा सहभागी हुने तीर्थ यात्री समस्यामा परे स्थानीय प्रशासनले सेनासहितको टोलीसहित उद्धारको व्यवस्था मिलाइएको छ।

समुद्र सतहबाट चार हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा बुधवारबाट गङ्गा दशहरा पर्व सुरु भएपछि मेलामा सहभागी हुन तीर्थ यात्रीहरू आउनेक्रम बढेको छ। मेलामा सहभागी हुन आएका यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाइएको र लेक लागेर बिरामी परेका उद्धारको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष मेलामा सहभागी हुने तीर्थ यात्रीको संख्या उल्लेख्य बढेको छ। तीर्थका लागि निस्केका एक हजार बढी यात्री बुधवार साँझ चन्दनबारी पुगेका छन्। ती यात्री बिहीबार बिहानैदेखि लौरी विनायक उकालो उक्लँदै गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

मेलामा सहभागी हुन काठमाडौँको बालाजुबाट धुन्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएको छ। धुन्चेबाट माथि लागेपछि खन्ती, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको पौडेलले जानकारी दिए।

उकालो हिँड्दा बढी स्वास्वा हुने यात्रीका लागि चन्दनबारीमा घोडाको व्यवस्था गरिएको छ। चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परे गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पौडेलले अनुरोध गरेका छन्।

जेठ १५, २०८२ बिहीबार १३:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।