गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौं, तर बजेट पेश गर्न दिन्छौं : माओवादी केन्द्र

काठमाडौं : माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा जोडिएका वा विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट आफ्नो पार्टी पछि नहटेको स्पष्ट पारेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल र अन्य विपक्षी दलहरूको तर्फबाट बोल्दै पाण्डेले उनले राजीनामाको अडान यथावत रहेको बताएका हुन्।
बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थालाई सम्मान गर्दै र संविधान कार्यान्वयनमा आफूहरूको इमानदारिता देखाउँदै सरकारलाई संसदमा बजेट पेश गर्न दिने निर्णय गरिएको जानकारी दिए।
प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र त्यसपछि नेपाल सरकारको वार्षिक बजेट प्रस्तुत गर्ने कार्यका लागि मात्रै सदनको कारबाही अगाडि बढ्न दिइने उनले बताए।
तर भिजिट भिसा प्रकरण लगायतका विषयमा उठेका प्रश्नहरूको समाधान नभएसम्म तथा गृहमन्त्रीको राजीनामाको माग सम्बोधन नभएसम्म अन्य कुनै पनि कार्यसूचीमाथि छलफल वा प्रक्रिया अगाडि नबढाइने आफूहरूको अडान कायमै रहेको उनको भनाइ थियो।
पाण्डेले सदनको अवरोध हटाउन र नियमित कार्यसूची अगाडि बढाउनका लागि सत्तापक्षले नै उचित वातावरण बनाउनुपर्नेमा जोड दिए।
जेठ १५, २०८२ बिहीबार १३:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।