राजावादीको आन्दोलन र ओलीको उत्तेजक अभिव्यक्तिपछि काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गरेको र्याली र राजसंस्थाको पक्षमा राजावादी समूहले घोषणा गरेको जनआन्दोलनका कारण बिहीबार काठमाडौं उपत्यकामा सवारी साधनको चाप ह्वात्तै घटेको छ।
आज बिहानैदेखि उपत्यकाका मुख्य सडक तथा चोकहरूमा सवारी साधनको आवागमन पातलो देखिएको छ। उकेराकर्मीले बिहीबार दिउँसो तीनकुनेदेखि रत्नपार्कसम्म हिँड्दा अन्य दिनको तुलनामा सडकमा सवारी साधन निकै कम मात्रामा गुडेको पाइयो। सवारी चाप न्यून भएकाले कतै पनि ट्राफिक जामको समस्या देखिएन।
गणतन्त्र दिवसको सन्दर्भमा एमालेले भद्रकाली नजिकै आयोजना गर्न लागेको र्याली तथा सभाका लागि केही मानिसहरुको उपस्थिति बिहानैदेखि देखियो। तथापि उनीहरू सडकको एक किनारमा मात्र जम्मा भएकाले आवागमनमा कुनै अवरोध थिएन।
यसैगरी, भद्रकालीबाट सिंहदरबारतर्फ जाने सडकखण्ड पनि प्रायः सुनसान देखिन्थ्यो। उपत्यकाका अन्य प्रमुख चोक, बजार क्षेत्र र मुख्य सडकहरूमा पनि सामान्य दिनको तुलनामा सवारी साधनको चाप निकै कम छन्।
खासगरी, राजावादी समूहले प्रदर्शन घोषणा गरेको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई ‘सडक कब्जा गर्न’ आह्वान गर्दै दिएको उत्तेजक अभिव्यक्तिपछि आज सडकमा दुई समूहबीच झडप वा मुठभेड हुन सक्ने व्यापक आशंका र आँकलन गरिएको थियो।
सम्भावित झडपको यही आँकलनका कारण सार्वजनिक बिदा नभए पनि धेरै निजी कार्यालय, इन्स्टिटच्यूट तथा अन्य संघसंस्थाहरूले आफ्ना कर्मचारी तथा विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी आज एक दिनका लागि बिदा दिएका छन्। यसले पनि सडकमा सवारी साधनको संख्या घटाएको देखिन्छ।
प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्ति र उत्पन्न सुरक्षा चुनौतीको आँकलन गर्दै सुरक्षा संयन्त्रले उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। विशेषगरी रत्नपार्क र आसपासका क्षेत्रमा मात्र तीन हजार भन्दा बढी प्रहरी परिचालन गरिएको बताइएको छ।
आज दिनभर काठमाडौंमा एमाले र राजावादी दुवै समूहको प्रदर्शनको तयारी छ। एमालेले आफ्नो कार्यक्रम दिउँसो २ बजेसम्म र त्यसपछि राजावादी समूहले प्रदर्शन गर्ने योजना बनाएको छ।
यसअघि नै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत ‘चिन्ताजनक र उत्तेजक’ भन्दै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेको थियो। यस्तो आग्रह गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय मानव अधिकार आयोगको पूर्वनिर्धारित कार्यक्रममै सहभागी भएनन्।
जेठ १५, २०८२ बिहीबार १२:११:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।