टुँडिखेलमा गणतन्त्र दिवस भव्यताका साथ मनाइयो, सैनिक कवाजदेखि झाँकीसहित मूल समारोह

काठमाडौं : सरकारले विविध कार्यक्रम गरी १८औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ। २०६५ सालमा २३८ वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते यो दिवस मनाउने गरिन्छ।
यस वर्षको मूल समारोह काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना गरियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक निकायका प्रमुख, मन्त्री, सरकारी उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा राष्ट्रपतिले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रिय गान बजाइएको थियो। यसै अवसरमा देश र जनताका लागि प्राण आहुति दिने ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनापछिका उपलब्धिहरू, लोकतन्त्र सुदृढीकरणका प्रयासहरू र देशको समृद्धिका लागि भावी योजनाहरूबारे बताएका थिए।
देशमा राजतन्त्र र गणतन्त्रकालको विकासको सूचकाङ्कको तुलना गर्न आग्रह गर्दै उनले युवापुस्तामाझ आग्रह गरे। निरङ्कुश राजतन्त्र र गणतन्त्रमध्ये कुन उचित हो भन्ने आजको बहसको विषय नभएको भन्दै उनले राज्यका अङ्ग र जिम्मेवारीमा रहेका केही व्यक्तिहरूको आचरणमा सुधारको आवश्यकता रहेको स्वीकारे।
गणतन्त्र दिवस समारोहमा सेनाले राष्ट्रपतिको सम्मानमा विशेष सैनिक कवाज प्रदर्शन गर्यो। पूर्ण सैनिक पोशाकमा सजिएका विभिन्न पल्टनका टुकडीहरूले अनुशासित र आकर्षक मार्च पास्ट प्रस्तुत गरेका थिए। समारोहमा राष्ट्रपतिलाई सलामी अर्पण समेत गरियो।
नेपाली सेनाको सैनिक ब्याण्डले देशभक्तिपूर्ण र विभिन्न सांस्कृतिक धुनहरू बजाएर समारोहलाई थप संगीतमय बनाएको थियो। यसका साथै, नेपाली सेनाले समारोह स्थलको सुरक्षा व्यवस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरी समारोहलाई थप आकर्षक बनाइएको थियो।
सैनिक कवाजका अतिरिक्त, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी निकाय, विद्यालयका विद्यार्थीहरू र विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूले पनि टुँडिखेलमा प्रदर्शन गरेका थिए। यी झाँकीहरूमा नेपालको विविधतापूर्ण संस्कृति, विकास निर्माणका गतिविधि र सुरक्षा निकायको तयारीलाई झल्किएको थियो।
काठमाडौं उपत्यका बाहिर पनि सातै प्रदेशका राजधानी र जिल्ला सदरमुकामहरूमा गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिँदैछ। यस दिन विभिन्न सरकारी तथा सार्वजनिक भवनहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो।
जेठ १५, २०८२ बिहीबार ११:४६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।