मिस युनिभर्स नेपालको आवेदन खुला, उचाइ, तौल र वैवाहिक स्थितिको प्रतिबन्ध छैन

मिस युनिभर्स नेपालको आवेदन खुला, उचाइ, तौल र वैवाहिक स्थितिको प्रतिबन्ध छैन

काठमाडौं : मिस युनिभर्स नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यसबारे औपचारिक घोषणा गरिएको हो।

यस वर्षको प्रतियोगिता रियालिटी टिभी शोको रूपमा प्रस्तुत गरिने छ, जसमा आठवटा विभिन्न खण्ड समेटिनेछन्। कार्यक्रमका आयोजकका अनुसार दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र रूपान्तरणलाई नजिकबाट अनुभव गर्न सक्नेछन्।

मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले यो प्रतियोगिता नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म भएको बताइन्। उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही तपाईंको सौन्दर्यता हो।’

उनले समावेशीता र लोकतान्त्रिक मूल्यमा आधारित यो मञ्च सबै पृष्ठभूमिका महिलाहरूका लागि खुला रहेको स्पष्ट पारिन्। दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ।

इच्छुक महिला सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट, वा सोसल मिडिया प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। सहभागीले कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।

प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले स्पष्ट पारेको छ। नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन्।

घोषणा कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ की विजेता सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की, र अध्यक्ष साबी पुरीको विशेष उपस्थिति थियो।

प्रतियोगिताका शीर्ष प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन्, भने क्लोज क्याम्प भदौमा सञ्चालन हुनेछ। ग्रान्ड फिनाले पनि भदौमै आयोजना गरिनेछ।

यस वर्ष मिस युनिभर्स नेपालले समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने घोषणा समेत गरेको छ।

जेठ १५, २०८२ बिहीबार ११:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।