राष्ट्रिय क्रिकेट टोलीको कसल्टेन्ट कोचमा निक पोथास नियुक्त, को हुन् उनी?

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोचमा निक पोथास नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत पोथास नेपाली राष्ट्रिय टोलीको कन्सल्टेन्ट कोचमा नियुक्त भएको जानकारी गराएका हुन्। संघका अनुसार उनी स्कटल्यान्ड टुरका लागि मात्र कसल्टेन्ट रहनेछन्।
राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट लले आवश्यक ठानेपछि पोथासलाई नियुक्त गरिएको हो। उनीसँग इङ्ग्ल्यान्डमा क्रिकेट खेलको अनुभव छ।
को हुन् पोथास?
विकेटकिपर-ब्याट्सम्यानको रूपमा दक्षिण अफ्रिकाका लागि खेलेका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर पोथास अनुभवी प्रशिक्षक हुन्। सन् १९७३ नोभेम्बर १८ मा जोहान्सबर्ग, दक्षिण अफ्रिकामा जन्मिएका पोथासले आफ्नो क्रिकेट करियर ट्रान्सवालबाट सुरू गरेका थिए।
उनले सन् २००० मा दक्षिण अफ्रिकाबाट तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। खेल जीवनमा उनले फर्स्ट क्लास क्रिकेटमा ११ हजार ४३८ रन बनाएका छन् भने ६१४ क्याच र ४५ स्टम्पिङ गरेका छन्। इङ्ल्याण्डको ह्याम्पशायर काउन्टी क्रिकेट क्लबबाट पनि लामो समय क्रिकेट खेलेको अनुभव समेत उनीसँग छ।
पोथासले सन् २०१२ मा गर्नसी क्रिकेट बोर्डको निर्देशकको रूपमा काम सुरू गरे। त्यसपछि सन् २०१६ मा श्रीलङ्काको राष्ट्रिय टोलीमा फिल्डिङ प्रशिक्षक बने र केही समय अन्तरिम मुख्य प्रशिक्षकको रूपमा पनि काम गरे।
सन् २०१८ मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीको पनि अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निभाएका उनले सन् २०२३ मा उनी बाङ्गलादेश राष्ट्रिय टोलीका सहायक प्रशिक्षक नियुक्त भए। तर, सन् २०२५ मा पारिवारिक कारण देखाउँदै उक्त पदबाट राजीनामा दिए।
जेठ १५, २०८२ बिहीबार १०:२५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।