ट्रम्पबाट टाढिए मस्क : सरकारी दक्षता विभागबाट राजीनामा, बजेट विधेयकप्रति असन्तुष्टि

ट्रम्पबाट टाढिए मस्क : सरकारी दक्षता विभागबाट राजीनामा, बजेट विधेयकप्रति असन्तुष्टि

काठमाडौं : टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा गठन गरिएको ‘सरकारी दक्षता विभाग’बाट राजीनामा दिएका छन्।

मस्कले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मा पोस्ट गर्दै आफ्नो १३० दिने कार्यकाल समाप्त भएको जानकारी दिएका हुन्।

विभागको उद्देश्य संघीय खर्च कटौती गर्नु थियो, जसका लागि मस्कले २ ट्रिलियन डलर (करिब २२० खर्ब रुपैयाँ) कटौती गर्ने लक्ष्य राखेका थिए। तर, उनले केवल १५० अर्ब डलर मात्र कटौती गर्न सफल भए।

मस्कले ट्रम्प प्रशासनद्वारा पारित ‘बिग ब्यूटिफुल बिल’ नामक बजेट विधेयकप्रति असन्तुष्टि जनाउँदै यसले विभागको लक्ष्यलाई कमजोर बनाएको टिप्पणी गरे।

उनले भने, ‘बिल ठूलो वा सुन्दर हुन सक्छ, तर दुवै एकसाथ सम्भव छैन।’

मस्कले विभागलाई सरकारभित्रका अन्य समस्याहरूको ‘बलिको बोको’ बनाइएको आरोप पनि लगाएका छन्।

विभाग अन्तर्गत, मस्कले सरकारी कर्मचारीहरूलाई हरेक हप्ता ‘तपाईंले गत हप्ता के गर्नुभयो?’ शीर्षकमा पाँचवटा उपलब्धि रिपोर्ट गर्न निर्देशन दिएका थिए। तर, यो कार्यक्रम विवादास्पद बनेपछि पेन्टागनले यसलाई अन्त्य गरेको छ।

विभाग नेतृत्वमा रहँदा मस्कले संघीय कर्मचारीहरूलाई बर्खास्त गर्ने, सरकारी अनुदान र ठेक्का रद्द गर्ने जस्ता कदमहरू चालेका थिए, जसका कारण २१ जना प्राविधिक कर्मचारीहरूले राजीनामा दिएका थिए।

विभागको स्थापना राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत् गरेका थिए, जसमा मस्कलाई प्रमुख सल्लाहकारको रूपमा नियुक्त गरिएको थियो। तर, मस्कको नियुक्ति संविधानको ‘अपोइनमेन्ट्स क्वासेस’ अनुसार सिनेटबाट पुष्टि नभएको भन्दै १४ वटा राज्यहरूले मुद्दा दायर गरेका छन्।

मस्कले अब आफ्नो ध्यान पुनः टेस्ला, स्पेसएक्स र अन्य प्रविधि कम्पनीहरूमा केन्द्रित गर्ने बताएका छन्। उनले विभागमा अनौपचारिक रूपमा सल्लाहकारको भूमिका निभाउने संकेत दिएका छन्।

जेठ १५, २०८२ बिहीबार ०८:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।