नेपालको पहिलो बजेट ल्याउँदा अर्थमन्त्री सुवर्ण शम्शेरले भनेका थिए- ‘धनी र गरिबबीचको अन्तर कम गर्नुपर्छ’

काठमाडौं : जहानियाँ राणा शासनको २००७ साल फागुन ७ गते अन्त्य भएपछि मात्रै नेपालमा औपचारिक रूपमा बजेट आउन थालेको हो। त्यसअघि खर्च र आम्दानी सबै राणा शासकहरूले भनेबमोजिम हुन्थ्यो। राणाहरूले कर उठाएर आफ्नै खातामा जम्मा गर्थे। नागरिकको कर उनीहरूको मोजमस्तीमा सकिन्थ्यो।
फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि नेपालमा संयुक्त सरकार बन्यो, जसमा राणा पक्ष र नेपाली कांग्रेसको सहभागिता थियो। यही सरकारमा नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका थिए सुवर्ण शम्शेर। उनले २००८ साल माघ २१ गते नेपालको पहिलो बजेट प्रस्तुत गरे। बजेट विवरणमा उल्लेख भएअनुसार, अर्थमन्त्रालयबाट त्यतिबेला यकिन तथ्य र तथ्यांक आउन नसकेको र जति प्राप्त भयो त्यहीको आधारमा आम्दानी र खर्च विवरण देखाइएको थियो।
बजेट वक्तव्यमा उनले भनेका थिए, ‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ। अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के-केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ।’
सुवर्ण शम्शेरले प्रस्तुत गरेको बजेट वक्तव्यमा वि.सं. २००७ सालको (आर्थिक वर्ष २००७/०८) अनुमानित कूल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्चतर्फ २ करोड ४६ लाख ८७ हजार रुपैयाँ रहेको उल्लेख छ। यसअनुसार, ४३ लाख ९४ हजार रुपैयाँ बचत भएको बजेट वक्तव्यमा जनाइएको छ।
त्यतिबेला नेपालमा सडक सञ्जाल लगभग थिएन भन्दा फरक पर्दैन। राणाहरूका मात्रै गाडी हुन्थे। उनीहरूले सिंहदरबारसम्म जाने बाटो बनाएका थिए। पहिलो बजेटमा सुवर्णशम्शेरले यातायात अत्यन्तै महत्वपूर्ण रहेको र यातायातको विकासमा सरकारले लगानी गर्ने उद्घोष गरेका थिए। त्यस्तै, शिक्षा र स्वास्थ्यमा पनि राज्यले लगानी गर्ने बजेटमा उल्लेख गरेका थिए।
त्यतिबेला उनले धेरै काममा हात हाल्नु भन्दा सानासाना काम थाल्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए। स्रोत र साधनको समुचित प्रयोग गरी मुलुकको धन बढाउनुपर्ने र मुलुकको धन बढाउँदा धनी र गरिबबीचको अन्तर बढ्न नदिई त्यसलाई कम गर्नुपर्ने बजेट वक्तव्यमा उल्लेख छ।
यस्तो थियो नेपालको पहिलो बजेटको पूर्णपाठ:
जेठ १५, २०८२ बिहीबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।