आर्थिक वर्ष २०८२/८३ का लागि २० खर्बको बजेट ल्याउँदै सरकार

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झन्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ।
आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई पुनः लयमा फर्काउने योजना समेटिएको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
योजना आयोगले आगामी बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो। तर मध्यकालीन खर्च संरचना तथा स्रोत समितिले २० खर्ब ८८ अर्ब रुपैयाँको बजेट प्रक्षेपण गरेको छ।
अन्ततः अर्थ मन्त्रालयले आयोगको सिलिङ र समितिको प्रक्षेपणको सन्तुलन गर्दै करिब २० खर्ब रुपैयाँको बजेट ल्याउने बुझिएको छ।
बजेटमा निर्माणाधीन राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्ने, सामाजिक सुरक्षा कार्यक्रम सुधार गर्ने, कृषिको व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने, वृद्धभत्ता पाउने उमेर ६८ बाट ७० वर्ष पुर्याउने, कर्मचारीको तलब वृद्धि गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने सरकारको तयारी छ। स्वदेशमा औद्योगिक उत्पादन लागत घटाउन कच्चा पदार्थको आपूर्ति सहज बनाउने नीति अपनाइने बताइएको छ।
नवउद्यम (स्टार्टअप) र स्वरोजगार प्रवर्द्धनलाई बजेटमा विशेष स्थान दिइनेछ। सूचना प्रविधि क्षेत्रलाई समेत प्राथमिकतामा राखिने सरकारी अधिकारीहरूले जनाएका छन्। निजी क्षेत्र, जसको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान छ,लाई प्रोत्साहन गरिनेछ।
बजेटमा ‘आर्थिक रोजगार दशक’ र ‘कृषि लगानी दशक’लाई प्राथमिकता दिइँदै मध्यपहाडी लोकमार्ग आसपास ‘ग्रीन इकोनमिक बेल्ट’ घोषणा तथा कृषिजन्य वस्तुको निर्यात प्रोत्साहन गरिने तयारी गरिएको छ।
१० लाख हेक्टर बाँझो जमिनमा सामूहिक तथा करार खेतीको प्रवर्द्धन, कृषि प्रयोगशालाको क्षमता विकास र उच्च मूल्यका उपजका लागि पकेट क्षेत्र निर्धारण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परिमार्जनका विषय पनि समेट्ने तयारी छ।
यसका अलावा निर्माणाधीन औद्योगिक ग्राम समयमा सक्ने गरी यथेष्ट बजेट विनियोजन, रुग्ण सरकारी उद्योगलाई सार्वजनिक–निजी साझेदारी मार्फत सञ्चालन, नदीजन्य निर्माण सामग्रीको उत्पादन तथा बिक्रीको व्यवस्थापन र असमानता र गरिबी न्यूनीकरणका लागि सामाजिक सुरक्षा कार्यक्रम सुधारलाई बजेटमार्फत सम्बोधन गर्ने सरकारको तयारी छ।
जेठ १५, २०८२ बिहीबार ०७:४२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।