पछिल्लो १२ घण्टामा ४२६ मिलिमिटर वर्षा, यी चार प्रदेशमा आज पनि पानी पर्ने

काठमाडौं : देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसकै प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिन्छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ।
राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
पछिल्लो १२ घण्टामा मकवानपुरको मार्खुमा अति भारी वर्षा भएको छ। यस अवधिमा त्यहाँ ४२६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार त्यसपछि सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको राङसिङमा १४२ मिलिमिटर वर्षा भएको छ।
म्याग्दीको मुनामा ८७.४, काठमाडौंको पानीपोखरीमा ७४.४, दाङको बागासोतमा ७०, सिन्धुपाल्चोकको बाँसखर्कमा ६८ मिलिमिटर वर्षा भएको हो।
जेठ १५, २०८२ बिहीबार ०७:३०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।