आज गणतन्त्र दिवस

काठमाडौं : तत्कालीन सात राजनीतिक दलद्वारा आह्वान गरिएको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही माओवादीको सशस्त्र सङ्घर्षको उपलब्धिका रूपमा नेपालले गणतन्त्रको अभ्यास थालेको १८ वर्ष पूरा भएको छ।
वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो। सो ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइन्छ।
त्यो दिन नेपाली जनताले स्वतन्त्रता, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र नागरिक सर्वोच्चताको प्रत्याभूति प्राप्त गरेका थिए। गणतन्त्र दिवस वंशीय शासन व्यवस्थामाथि जनताको विजयको उत्सव हो।
गणतन्त्रले समृद्ध भविष्यका लागि सबै नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिँदै एकताको भावना जागृत गर्यो। शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा, सामाजिक सुरक्षा र गरिबी निवारणसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको गरिमा उँचो बनाउनु यसको प्राथमिक कार्यभार हो।
गणतान्त्रिक संविधानको मूल भावना जनअपेक्षा र जनभावनाअनुरूप शासन सञ्चालन गर्नु हो। त्यसैले यो दिवसलाई लोकतन्त्रको संरक्षण र प्रवर्द्धनको अवसरका रूपमा मनाउन जरुरी छ। लोकतान्त्रिक गणतन्त्र केवल राजनीतिक संरचना नभई शासकीय पद्धति र जीवनशैली पनि हो, जसले उदारवादी मूल्य र आदर्शलाई मूर्त रूप दिन्छ।
विश्वका विद्यमान शासन प्रणालीहरूमध्ये लोकतान्त्रिक गणतन्त्र सर्वश्रेष्ठ मानिन्छ, जसले जनताको जीवनस्तर सुधार र राष्ट्रको समृद्धिमा निर्णायक भूमिका खेल्दछ।
अठारौँ गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रमहरूका साथ उल्लासपूर्वक मनाइँदैछ। मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।
कार्यक्रममा गणतन्त्र स्थापनाका लागि सहादत दिएका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिनुका साथै लोकतन्त्र स्थापनार्थ संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदान स्मरण गरिनेछ।
लोकतन्त्र र सामाजिक न्याय स्थापनाका लागि भएका आन्दोलन तथा सङ्घर्षमा कैयौँ नेपालीले जेल र यातना भोग्नुपरेको इतिहासलाई पनि आजको दिनमा सम्झना गरिन्छ।
विभिन्न राजनीतिक दलका नेताहरूले आजको दिन लोकतान्त्रिक संस्कृतिमा नागरिकलाई समुन्नत, अधिकारसम्पन्न र खुसी बनाउने अभियानमा प्रतिबद्धता जनाएका छन्।
उनीहरूले लोकतान्त्रिक व्यवस्थामा जीवनस्तर सुधार गर्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन र सुशासन कायम गर्नुपर्ने दायित्व उल्लेख गरेका छन्।
सन्देशहरूमा वर्तमान पुस्ताका लागि समृद्धि र बलियो अर्थतन्त्र सुनिश्चित गर्दै आगामी पुस्तालाई सबल, एकताबद्ध र मौलिक चरित्रयुक्त उदार राज्य र परिष्कृत लोकतान्त्रिक संस्कृतिको हस्तान्तरण गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
जनादेश, मतादेश र संविधानअनुरूप एकढिक्का भएर अघि बढ्न सके, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत हुने विश्वास व्यक्त गरिएको छ। समाजका सबै तह र तप्कामा गणतान्त्रिक चेतना विकास गरी नागरिक तहसम्म विस्तार गर्नु अहिलेको आवश्यकता हो।
गणतान्त्रिक शासन प्रणालीले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्दै हरेक नागरिकलाई राष्ट्र निर्माणको अभियानमा समेट्न सक्नुपर्छ।
जेठ १५, २०८२ बिहीबार ०७:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।