उच्चको फैसलाले जन्मकैद पाएका आलम ६ वर्षमै भए कारागार मुक्त

काठमाडौँ : चुनावमा आतंक मच्चाउन बम बनाउँदा पड्किएर घाइते भएकाहरूलाई ज्यूँदै इटाभट्टामा जलाएर मारेको अभियोगमा २०७६ असोज १९ बाट प्रहरी हिरासत हुँदै कारागारमा रहेका मोहम्मद आफताब आलम बुधवार रिहा भए।
प्रहरीले गरेको अनुसन्धान अनुसार जिल्ला सरकारी वकिल कार्यालयले बुझाएको अभियोग पत्र अनुसार २०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो भने २०८१ वैशाखमा उनीसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
बुधवार आलमको पुनरावेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उनीसहित चारै जनालाई सफाईदिँदै जिल्ला अदालतको फैसला उल्टाएपछि नक्खु कारागारमा रहेका आलम बुधवारै रिहा भए।
नक्खु कारागारका जेलर भीमराज कोइरालाका अनुसार जेल प्रशासनले उनलाई बुधवार परिवारको सदस्यको जिम्मा लगाएको हो। नेपाली कांग्रेसका पूर्व सांसद रहेका आलमको सो मुद्दा अदालतमा पुग्न १२ वर्ष लागेको थियो।
पीडित परिवारको तर्फबाट दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि उच्च अदालतमा दायर भएको रिटको आधारमा जाहेरी दर्ताको आदेश भएपछि मात्र आलम पक्राउ परेका थिए। जिल्लाबाट गम्भीर अपराधमा दोषी ठहर भएका उनको पुनरावेदनमा उच्च अदालतको इजलासले बम पड्किएको पुष्टि हुने प्रमाण नभएको, इट्टा भट्टामा जलाएको प्रमाण नभेटिएको जस्ता तर्कको आधारमा जिल्लाको फैसला उल्टाउने फैसला गरेको हो।
उच्चको फैसलाको विरुद्ध सरकारीपक्ष सर्वोच्च जाने कानुनी बाटो भने खुल्ला नै हुनेछ। तर यस अगाडि राजनीतिक विषयका मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नजाने निर्णय गरेको थियो।
जेठ १४, २०८२ बुधबार २२:३९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।