'राजावादी आन्दोलन'ले रोकियो फिल्म महाभोजको रिलिज

काठमाडौं : राजा फर्काउने आन्दोलनका कारण बिहीबार रिलिजको तयारीमा रहेको फिल्म ‘महाभोज’ को मिति सरेको छ। निर्माण टिमले बिहीबार फिल्म रिलिज गर्ने सबै तयारी सकाएर विशेष शो समेत गरेको थियो। बिहीबार गणतन्त्र दिवसको दिन सरकारीसँगै राजतन्त्र फर्काउन चाहने समूहले समेत प्रदर्शन राखेका छन्।
निर्माण टिमले जारी गरेको विज्ञप्तिमा 'देशभर फैलिरहेका आन्दोलन र असहज परिस्थितिका कारण' रिलिज स्थगित गर्नुपरेको उल्लेख छ।
देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको बुधवार जारी विज्ञप्तिमा उल्लेख छ। निर्माता हिमाल कडरियाले जारी गरेको विज्ञप्तिमा संवेदनशील अवस्थामा दर्शकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै फिल्म ‘महाभोज’ को प्रदर्शन नेपाल तथा विदेशमा हाललाई स्थगित गर्ने निर्णयमा पुगेको उल्लेख छ।
निर्माण टिमले नयाँ रिलिज मिति सार्वजनिक गरेको छैन। महाभोज’ दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ।
जेठ १४, २०८२ बुधबार २०:४४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।