भिजिट भिसा प्रकरणबारे उत्तर दिन आएका गृहमन्त्री लेखक प्रश्नै प्रश्न सोधेर हिँडे, मुख्य उत्तरबाट छड्किए

भिजिट भिसा प्रकरणबारे उत्तर दिन आएका गृहमन्त्री लेखक प्रश्नै प्रश्न सोधेर हिँडे, मुख्य उत्तरबाट छड्किए
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौँ : भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा गृह मन्त्रालयका कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेसँगै गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन्।

उनको कार्यकालमा त्रिभुवन विमानस्थल अध्यागमन विभागको प्रमुखमा सरुवा भएका तीर्थराज भट्टराईलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेर अहिले हाजिर जमानीमा छाडेको छ।

भट्टराईसँग मिलेर भिजिट भिसामा जानेहरूसँग रकम असुलेको आरोपमा अन्य तीन जना पनि पक्राउ परे। अहिले सबै चार जना हाजिर जमानीमा छन्।

अख्तियारले छापा मारेर भट्टराईलाई पक्राउ गर्नु अघिल्लो दिन नै उनको सरुवा गर्नु, उनको सचिवालयमा रहेका विवादित कर्मचारीको अन्यत्र सरुवा गर्नु लगायतका उनको निर्णयलाई भिजिट भिसाको प्रकरणसँग जोडेर विपक्षी दलहरूले प्रतिनिधि सभामा उनको राजीनामा मागिरहेका छन्।

उनले मंगलबार यसबारे प्रतिनिधि सभामा जानकारी दिने प्रयास गरेका थिए। तर प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन्। बुधवार पनि प्रतिनिधि सभामा उनले जवाफ दिने वातावरण नबनेपछि संसद् भवनकै अर्को बैठक कक्षमा उनले नेपाली कांग्रेसका सांसदहरूलाई मञ्चमा राखेर पत्रकार सम्मेलनको आयोजना गरे।

उनीसँगै मञ्चमा नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेसँगै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा लगायतका अन्य सांसदहरू पनि थिए।

उनले संसद्मा आफ्नो भनाई राख्न नपाएपछि ‘म माथि यस्तो भइरहेको छ है’ भनेर भन्न आएको’ भन्दै पत्रकार सम्मेलनमा उनीमाथि उठेका प्रश्नहरूको उत्तरभन्दा धेरै प्रश्नहरू गरेर गए।

उनले पत्रकार सम्मेलनमा तीन वर्षको अवधिमा अख्तियारमा कति जना सरकारी कर्मचारी विरुद्ध उजुरी पर्यो अनि गृह मातहतका कर्मचारी विरुद्ध परेका उजुरीको संख्या र मुद्दा चलेको सङ्ख्याहरू बताए।

पत्रकार सम्मेलनमा उनले बारम्बार कुनै एक सरकारी कर्मचारीमाथि अनुसन्धान हुँदा राजीनामा दिने पद्धति बसाल्ने हो भने कति जना मन्त्री चाहिएला अनि शासन व्यवस्था कसरी चल्ला भन्दै आफूमाथि राजनीतिक षड्यन्त्र भइरहेको दाबी गर्दै प्रश्नहरू सोध्न थाले।

-मेरा विरुद्ध उजुरी छ?

-मेरा विरुद्ध कतै छानबिन भएको छ?

-अपुष्ट सामग्रीकै आधारमा राजीनामा दिनुपर्ने हो?

-न्याय त मैले पनि पाउनुपर्ने होला नि?

-कि म न्याय नै पाउन नहुने नागरिक हुँ?

-आफ्नो पालामा भएको काम बिर्सने, अरूलाई दोषारोपण गरिहाल्ने?

-प्रहरीले छानबिन गरिरहँदा गृहमन्त्रीमाथि प्रश्न उठ्यो। के उहाँले राजीनामा दिनुभयो?

-मुख्यसचिवमाथि छानबिन भएर विशेष अदालतमा मुद्दा दायर भयो। के उहाँलाई नियुक्त गर्नेले राजीनामा दिनुभयो?

‘भट्टराईलाई मैले कर्मचारी बनाएको हैन’

गृहमन्त्री लेखक पत्रकार सम्मेलनको प्रारम्भमै विवादको मूल कारक सह-सचिव भट्टराई केन्द्रित हुँदै उनी कहिले गृह मन्त्रालयमा आए अनि आफू गृहमन्त्री हुनुभन्दा अगाडि उनलाई कुन-कुन गृहमन्त्रीले कहाँ-कहाँ सरुवा गरे भन्नेमा केन्द्रित भए।

उनले ‘म यहाँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु’ भन्दै पत्रकार सम्मेलनको प्रारम्भमै अध्यागमन कार्यालयमा सरुवा भएर गएका भट्टराईबारे बोल्दै भने ‘मैले ल्याएको कर्मचारी हैनन्। म आउनु अगाडि कसुरजन्य व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहेका थिए।’

भट्टराई २०७७ असार १९ गतेबाट गृह मन्त्रालयमा रहेको भन्दै यो बिचमा उनी कहाँ-कहाँ सरुवा भएर गए अनि कुन कुन गृहमन्त्रीले कता पठाए भन्ने विवरण पढ्न थाले।

यो पनि 

‘रामबहादुर थापाको पालामा गोर्खा र मोरंगको प्रमुख जिल्ला अधिकारी, २०७८ मा राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको प्रमुखहुँदा बालकृष्ण खाँण गृहमन्त्री, २०७८ पुस १२ मा मोरंगको प्रमुख जिल्ला अधिकारीहुँदा रवि लामिछाने गृहमन्त्री,’ उनले विवरण खुलाउँदै भने ‘ अनि गृहमा फर्किएको। त्यसपछि पुन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा गएको। २०८० साउन ३ मा गृहमा फर्किएर रवि लामिछाने गृहमन्त्रीहुँदा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएको। मेरो पालामा विमानस्थलको अध्यागमनमा गएको।’

उनले आफू गृहमा आउनु भन्दा अगाडि नै भट्टराईले अत्यन्त महत्त्वपूर्ण जिम्मेवारीहरू लिएर काम गरेको व्यक्ति रहेकाले विमानस्थलको कार्यालयको प्रमुख बनाएर पठाएको भन्दै तर्क गरे ‘मैले कतैबाट ल्याएर अचानक सरुवा गरेको हैन।’

उनले पत्रकार सम्मेलनमा अदालतबाट सफाइ पाइसकेको कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ रहे अनुसार जिम्मेवारी पाउने गरेको भन्दै ‘अपराधजन्य काममा व्यक्ति जिम्मेवार हुने तर आफूमाथि पहिलो पटक सरकारी कर्मचारीमाथि अख्तियारले अनुसन्धान गरे झैँ व्यवहार भएको भन्दै गुनासो गरेका थिए।’

भट्टराईको हतारमा सरुवा किन?

उनीमाथि सबैभन्दा शंका बढाउने घटना अख्तियार भट्टराईको गतिविधिबारे अनुसन्धानमै रहँदा हतारमा सरुवा गरेर मन्त्रालय तान्नु अनि आफ्नो सचिवालयमा रहेका विवादित पृष्ठभूमिका कर्मचारीलाई अन्यत्र सरुवा गर्नु पनि थियो।

यसबारे उनले पत्रकार सम्मेलनमा केही खुलाएनन्। जब प्रश्नोत्तर सुरु भए अनि एक पत्रकारले यही प्रसंगमा प्रश्न सोधे। तर उनले पहिला जसरी आफ्नो भनाइमा समय दिए यो प्रश्नको उत्तरमा त्यति समय दिएनन्।

मन्त्रीस्तरिय निर्णय गरेर भट्टराईको सरुवा भएको भोलिपल्टै अख्तियारले भट्टराईलाई अध्यागमनको कार्यालयबाटै पक्राउ गरेको थियो। त्यसपछि उनले आफ्नो सचिवालय अनि अध्यागमनका केही कर्मचारीहरूको सरुवा गरेका थिए।

हतारमा सरुवा गर्दा अख्तियारको अनुसन्धान प्रभावित भएकोबारे प्रश्न सोध्दा उनले ‘अख्तियारले छानबिन गर्नुभन्दा पहिला सरुवा नै भट्टराईको सरुवा भएको’ बताए। तर किन सरुवा भएको खुलाएनन्। अनि अध्यागमन र आफ्नो सचिवालयका कर्मचारीको सरुवाबारे उनको तर्क थियो ‘सरुवा भएका अन्य कर्मचारी देशभित्रै छन्। अख्तियारले चाहेमा बयान लिन सक्छ। अनुसन्धानलाई प्रभावित पार्ने काम मन्त्रालय र म बाट हुन्न।'

जेठ १४, २०८२ बुधबार १९:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।