हत्यामा जन्मकैद भएको कांग्रेस पूर्व सांसद आलमलाई उच्चको सफाइ

काठमाडौं : निर्वाचनको प्रचारको क्रममा बनाएको बम विस्फोट भएर घाइते भएकाहरूलाई इट्टा पोल्ने भट्टीमा राखेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन्।
जिल्ला अदालत रौतहटले उनलाई सो घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो। सो फैसला विरुद्ध उनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा पुनरावेदन दिएकोमा बुधवार अदालतले उनलाई सफाइ दिएको हो। न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्टाउने फैसला गरेको हो।
अदालतले आलमको घरमा घटना भएको दिनमा बम विस्फोट भएको प्रमाणले पुष्टि नगरेको, घाइतेहरूलाई राजा इँटा भट्टामा पोलेको प्रमाण नभेटिएको र विधि विज्ञान प्रयोगशालाबाट समेत इँटा भट्टामा मृतकहरुलाई जलाएको पुष्टि नभएको भन्दै सफाइ दिएको हो।
उनीमाथि संविधान सभाको निर्वाचनको समयमा २०६४ चैत २७ रौतहटको राजपुरमा रहेको एक घरमा भारतीय र नेपाली नागरिकसहित बम बनाउने क्रममा विस्फोट भएपछि घाइते भएकाहरूलाई पोल खुल्ने डरले उनले नजिकै रहेको इँटा भट्टामा पोलेर हत्या गरेको आरोप लागेको थियो। उनी यही आरोपमा २०७६ असोज १९ मा पक्राउ परेका थिए।
त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेको हत्याको आरोपमा २०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएकोमा २०८१ वैशाखमा उनीसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय हुने फैसला गरेको थियो।
उनीमाथि प्रारम्भमै व्यक्ति हत्याको आरोप लागे पनि प्रहरीले जाहेरी लिएको थिएन। पछि पीडितहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटको आधारमा जाहेरी दर्ता भएपछि उनी पक्राउ परेका थिए।
जेठ १४, २०८२ बुधबार १८:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।