पत्रकार सम्मेलनमा गृहमन्त्रीको प्रश्न ‘मेरा विरुद्ध उजुरी छ?’

पत्रकार सम्मेलनमा गृहमन्त्रीको प्रश्न ‘मेरा विरुद्ध उजुरी छ?’

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सवालमा नियोजित रूपमा आफ्नो चरित्र हत्या भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जारी अनुसन्धान प्रभावित पार्ने प्रयास भएको दाबी गरेका छन्।

प्रतिपक्षी दलको अवरोधका कारण संसद्मा सम्बोधन गर्न नपाएपछि बुधवार संसद् भवनको एक कक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्न गरे ‘राजनीतिक आग्रह-पूर्वाग्रह राखेर छानबिन भइरहेको कर्मचारीलाई राजनीतिक नेतृत्वसँग जोड्ने हो भने कसरी चल्ला?’

आपराधिक काममा जसले गरेको हो उसैले भोग्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै भने ‘गरेको कामको जिम्मा लिनु पर्छ। नगरेको कामको जिम्मा लिनु पर्दैन। गर्दै नगरेको कामको जिम्मा लिई कि लि भन्नु पूर्वाग्रह मात्र हो।’

उनले मानव तस्करीमा सक्रिय समूहसँगको मिलेमतोमा भिजिट भिसामा जानेहरूसँग रकम असुलेको आरोपमा पक्राउ परेका कर्मचारी तीर्थराज भट्टराईलाई आफू गृहमन्त्री भएपछि गृह मन्त्रालयमा नल्याएको र उनी २०७७ सालदेखि नै गृह मन्त्रालयमा रहेको र आफू गृहमन्त्री हुनु भन्दा अगाडि अन्य मन्त्रीहरूले समेत उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए।

उनले आफू सधैँ गृह मन्त्रालयको मन्त्री भएर नबस्ने भन्दै प्रश्न गरेका थिए ‘म मात्र मन्त्री भएर बस्ने हैन, हिजो अरूहरू पनि बसेका छन्। भोलि अरू पनि बस्लान्। अपुष्ट सामग्रीकै आधारमा राजीनामा दिनुपर्ने हो?,  कर्मचारीमाथिको अनुसन्धानमा मन्त्रीले राजीनामा दिन सम्भव छ?’

उनले हुँदै नभएको अनि गर्दै नगरेको काममा आरोपित गर्ने काम भएको दोहोर्याउँदै प्रश्नहरू गरिरहे ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि? मेरा विरुद्ध उजुरी छ?, मेरा विरुद्ध कतै छानबिन भएको छ?’

जेठ १४, २०८२ बुधबार १७:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।