बुटवल हत्याकाण्ड : पूर्व श्रीमती र दुई नाबालकको हत्या आरोपी सुजनले दाइको शव टुक्रा पारेर बोरामा फालेका थिए

बुटवल : तीन जनालाई वीभत्स हत्या गरेको आरोपी बुटवल मिलीजुली पथका सुजन कोइराला पूर्व पत्नी दीपा बस्याल ढकालसँग एक वर्षदेखि नियमित सम्पर्कमा रहेको देखिएको छ।
बुधवार बिहान ४ बजे दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू ७ वर्षीय स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या भएको थियो। प्रहरीले हत्याको आरोपमा कोइरालालाई पक्राउ गरेको छ।
प्रहरीसँगको प्रारम्भिक बयानमा कोइरालाले हत्या हुनुअघि राती ‘म सँग डिभोर्स गरेर खुसी भएर कसरी बसेको भन्दै’ झगडा भएको र रिसमा तीनै जनाको हत्या गरेको बताएको प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
उनले प्रारम्भिक बयानमा दीपासँग एक वर्षदेखि नियमित सम्पर्कमा रहेको र भेटघाट हुने गरेको बताएका छन्।
सुजन आफ्नै सहोदर दाजु सुदीप कोइरालाको २०६९ पुस २३ गते वीभत्स हत्या गरेको अभियोग पुष्टि भएसँगै जेल परेका थिए। ९ वर्ष कैद भुक्तान गरेपछि उनी २०७८ असोज ३ गते तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट चाल चलन सुधार भएको भन्दै बाँकी कैद मिनाहा भएर जेल मुक्त भएका थिए।
दाजुको शव टुक्रा टुक्रा पारेर फालेका थिए
उनले २०६९ असोजमा दीपासँग प्रेम विवाह गरेका थिए। विवाह भएको ३ महिनामै आर्थिक विषयमा विवाद भएपछि उनले दाजु सुदीपको हत्या गरेका थिए।
उनले दाजु सुजनको शव टुक्रा–टुक्रा पारेर बोरामा हालेर पाल्पाको केराबारीमा फालेको अवस्थामा फेला परेको थियो। दाजुको शव फालेपछि उनी आफैँ जिल्ला प्रहरी कार्यालय पाल्पामा पुगेर दाजु हराएको निवेदन दिएका थिए।
प्रहरीले अनुसन्धान सुरु गरेपछि उनले हत्या दाजुको हत्या गरेको देखिएपछि पक्राउ परेर ०६९ पुस २७ मा कारागार चलान भएका थिए।
कारागारमै भएको थियो डिभोर्स
विवाह गरेको तीन महिनामै दाजुको हत्या गरेर सुजन कारागार चलान भएपछि दीपाले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाइन। जिल्ला प्रहरी कार्यालय पाल्पाको अभिलेख हेर्दा दीपा र सुजनबीच ०७३ सालमा सम्बन्धविच्छेद भएको देखिन्छ।
उनले सोही वर्ष नै नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन। शंकर अहिले वैदेशिक रोजगारका क्रममा दुबईमा छन्।
पाल्पाको तानसेन नगरपालिका–७ कुनसेर स्थित आधारभूत स्वास्थ्य केन्द्रमा करार जागिरमा रहेकी दीपा दुई छोरी सहित तानसेनमा बस्दै आएकी थिइन।
बुधवार भान्जीको विवाहका लागि आएकी दीपाको बुधवार बिहान ४ बजे नै सुजनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए।
जेलको सीपले स्वरोजगार बनेका थिए सुजन
९ वर्ष जेल जीवन बिताएका सुजनले जेलमा रहँदा मुढा, हस्तकलाका सामानहरू बनाउन सिके। त्यही सीप अनुसार उनले मिलीजुली पथमा रहेको घरमा पसल नै राखेका थिए।
सुजन निवास लेखेको घरमा उनले मुढाका साथै हस्तकलाका सामानहरू बनाएर बिक्री गर्दै आएका थिए। पूर्व श्रीमती दीपा र उनका दुई छोरीहरूको हत्या गरेपछि सुजन बिहानै घरकै काममा लागेको छिमेकीहरू बताउँछन्।
उनले सबैजसो नमस्कार भन्दै छिमेकीसँग बोलेका थिए। सुजन बिहान ५ बजे उठेर घर अगाडि पानी राखेर सफा गरेका थिए। सुजनकी छिमेकी पद्मा राना कुँवरले बिहान सुजनले आफूसँग राम्रै कुराकानी गरेको बताइन्।
‘सात बजेतिर म सँग कुरा भएको थियो। उस्तै फुर्तिलो देखिन्थे। पछि प्रहरी आएपछि चकित परे’ उनले भनिन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले सुजनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको बताए।
जेठ १४, २०८२ बुधबार १७:०५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।