पूर्व अर्थमन्त्री आचार्यले भने ‘अनुत्पादन खर्च कटौती गर्न अर्थमन्त्रीले हिम्मत गर्नुपर्छ’

काठमाडौं : पूर्व अर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन नसकेको र बैंकमा पनि पैसा थुप्रिएको भन्दै यसमा ठूलो सुधार गर्न आवश्यक रहेको बताए।
‘अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन सकिरहेको छैन। बैंकमा पैसा थुप्रिएको छ। लगानीकर्ताहरूले लगानी गर्न आत्मविश्वास देखाएको अवस्था छैन,’ उनले भने।
निजी क्षेत्रतर्फ गएको कर्जा करिब ७-८ प्रतिशतको रहेको र यसले नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको उनले बताए।
‘थुप्रै क्षेत्रमा सुधारको आवश्यकता छ। सुधार अवलम्बन नगर्ने हो भने हाम्रो अर्थतन्त्र जुन समस्याग्रस्त छ यसबाट निस्किन हामीले सोचेको जस्तो नहुन सक्छ’ उनले भने।
उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्ने हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै दबाब आएर जथाभाबी खर्च गर्न नहुने बताए।
‘हामीले ऋण थप्दै जानुपर्ने हुन्छ, लिएको ऋण खर्च गर्न सक्ने क्षमता छैन। यसले हाम्रो विकासलाई कम गरिरहेको छ,’ उनले भने ‘नेपालमा अनुत्पादन खर्च कटौती गर्नुपर्छ, कठोरताका साथ यसलाई नियन्त्रण गर्ने हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने हुन्छ। दबाब आयो भन्दैमा जथाभाबी खर्च गर्नु हुँदैन।’
उनले राष्ट्रिय लक्ष्य निर्धारण गरेर खर्चको व्यवस्थापन गर्न सरकार लाग्नुपर्ने र पुँजीगत खर्च बढाउनेतर्फ अगाडि बढ्नुपर्ने बताए।
जेठ १४, २०८२ बुधबार १६:२८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।