ओलीको उत्तेजक अभिव्यक्तिबारे कांग्रेस सांसद केसीको टिप्पणी- ‘निरङ्कुश मनोवृत्ति’

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ‘एमालेले काठमाडौं कब्जा गर्नुपर्छ’ भनेर दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई ‘निरङ्कुश मनोवृत्ति’को संज्ञा दिएका छन्।
प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा नेता केसीले लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएको भन्दै त्यसविपरीत कुनै शहरै कब्जा गर्नका लागि कार्यकर्तालाई उत्तेजक अभिव्यक्ति दिएर भड्काउनु निरङ्कुश मनोवृत्ति भएको टिप्पणी गरेका हुन्र।
‘नेपालको संविधानले हरेक व्यक्ति, समूह र पार्टीहरूलाई आफ्ना विचारहरू राष्ट्रिय स्वाभिमानमा असर नपर्ने, राष्ट्रिय एकतालाई खलल नपुर्याउने गरी संवैधानिक अधिकार प्रयोग गर्न दिन्छ,’ उनले भने, ‘त्यो अधिकारलाई कसैले कब्जा गरेर गर्न नदेउ भन्नु निरङ्कुश मनोवृत्ति हो।’
राप्रपा लगायत राजसंस्था पक्षधरहरूले भोलि गर्न लागेको आन्दोलन अघि प्रधानमन्त्रीले दिएको उत्तेजनापूर्ण अभिव्यक्तिले शान्तिपूर्ण अवस्थामा झनै बाधा पुर्याउने भन्दै कुनै पनि लोकतान्त्रिक पद्धतिको प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आउनु उचित नभएको बताए।
उनले थपे, ‘प्रधानमन्त्रीको अभिव्यक्ति लोकतान्त्रिक प्रक्रिया र पद्धतिसँग सुहाउँदो भएन, यसमा उहाँले गम्भीर भएर सोच्नुपर्छ।’
फरक प्रसङ्गमा उनले आफूमाथि लागेको आरोपको प्रतिरक्षा गर्ने अधिकार जोकोहीलाई भएको भन्दै गृहमन्त्री रमेश लेखकलाई आफ्नो कुरा राख्न दिनुपर्ने बताए।
‘आरोप लागेपछि प्रतिरक्षा गर्ने अधिकार सबैलाई हुन्छ, त्यो अधिकार मन्त्रीज्यूलाई पनि छ,’ उनले भने, ‘मन्त्रीलाई लागेको आरोपलाई आफ्नो कुरा भन्छु भन्दा त सुन्नुपर्यो नि! सबैभन्दा पहिला उहाँलाई बोल्न त दिनुस्।’
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाको बारेमा प्रतिपक्षी दलहरू जानकार रहेकाले बजेट आउने वातावरण बन्नेमा उनी विश्वस्त सुनिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री विवादमा तानिएपछि प्रमुख प्रतिपक्षीसहितका प्रतिपक्षी दलहरूले उनको राजीनामा माग गर्दै दुई दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन्।
जेठ १४, २०८२ बुधबार १४:०५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।