अझै बस्न सकेन प्रतिनिधि सभा बैठक, सत्तापक्ष र प्रतिपक्ष छुट्टा-छुट्टै छलफलमा

काठमाडौं : सत्ताधारी नेपाली कांग्रेस र एमालेको छलफलका कारण विहान ११ बजे सुरू हुनुपर्ने प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन।
प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत दुई दलका शीर्ष नेताहरूको छलफलका कारण प्रतिनिधि सभाकाे बैठक बस्न नसकेको हो।
आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलले आन्तरिक छलफललाई तीव्रता दिएको हो।
प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले सदनमा उठाएका विषयका बारेमा सरकारका तर्फबाट गृहमन्त्री लेखकले प्रतिनिधि सभा बैठकलाई जानकारी गराउने छलफलमा सहभागी एक नेताले जानकारी दिए।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला सहभागी थिए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले बोल्दै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।
यसैबीच संघीय संसद भवन नयाँबानेश्वरमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)बाहेकका दलहरू छलफलमा जुटेका छन्। संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न उनीहरू छलफलमा जुटेका हुन्।
भोलि बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि आजसम्म पनि संसद् बैठक बस्ने वा नबस्ने भन्नेबारे अन्यौल कायमै छ।
जेठ १४, २०८२ बुधबार १२:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।