आफन्त मार्ने धम्की दिँदै दीपालाई भेट्न बाेलाउँथे पूर्वपति सुजन

बुटवल : बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बुधबार बिहान एकै परिवारका तीन जनाको विभत्स हत्या भयो।
पूर्वपति सुजन कोइरालाले आफन्तलाई समेत मार्ने धम्की दिएर बोलाएपछि भेट्न जाँदा ३१ वर्षीया दिपा बस्याल ढकाल र उनकी छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालले ज्यान गुमाए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले घटनाको पुष्टि गर्दै आमा र दुई नाबालक छोरीहरूको हत्या घरेलु हतियार प्रयोग गरी क्रूर तरिकाले गरिएको जानकारी दिए।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा अभियुक्त कोइराला मृतक दिपा बस्याल ढकालका पूर्व श्रीमान भएको खुलेको छ।
प्रहरी स्रोत र स्थानीयका अनुसार, सम्बन्ध विच्छेदपछि दीपाले पाल्पाका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। दीपा स्थानीय स्वास्थ्ययकर्मी थिइन्। हत्या भएका दुई छोरीहरू स्नेहा र हिमानी शंकर ढकालतर्फका सन्तान थिए। हाल शंकर ढकाल वैदेशिक रोजगारीका लागि विदेशमा छन्।
दिपा हालै एक आफन्तको विवाहका लागि दुई छोरीसहित बुटवल आएको थाहा पाएपछि पूर्वपति कोइरालाले उनलाई बुटवलमै रहेको आफ्नो घरमा भेट्नका लागि दबाब दिएका थिए।
प्रहरीका अनुसार, सुजनले दिपालाई भेट्न बनेलाउँदा आफन्तलाई मारिदिने धम्की दिएका थिए। डर र धम्कीकै कारण दिपा आफ्ना दुई छोरीसहित सुजनको घरमा पुगेको बुझिएको छ।
सुजनको घरमा पुगेका दिपा र उनकी दुई छोरीहरूले मंगलबार राति सँगै खाना खाएका थिए र सोही घरमा सुतेका थिए। त्यसपछि बुधबार बिहान करिब ४ बजे सुजनले उनीहरूको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक रानाका अनुसार, अभियुक्त सुजनले दुई नाबालक छोरीहरू स्नेहा र हिमानीको घाँटी चक्कुले रेटेर हत्या गरेका थिए। दिपालाई भने सुरूमा टाउकोमा हथौडा प्रहार गरी गम्भीर बनाएपछि घाँटी रेटेर मारिएको प्रहरी अनुसन्धानले देखाएको छ।
हत्या अभियोगमा पक्राउ परेका सुजन कोइरालाको विगतको आपराधिक पृष्ठभूमी झनै डरलाग्दो पाइएको छ। प्रहरीका अनुसार, करिब १० वर्षअघि सुजनले आफ्नै माइला दाजुको हत्या गरेका थिए।
दाजुको हत्यापछि शवलाई टुक्राटुक्रा पारी नष्ट गर्ने प्रयास गरेका उनले पछि जिल्ला प्रहरी कार्यालय पाल्पामा दाजु हराएको भन्दै खोजीका लागि निवेदन समेत दिएका थिए।
माइला दाजुको हत्यापछि सुजन जेल परेका थिए। दिपाले सुजन जेलमा छँदै उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। सुजनले करिब आठ वर्ष जेल जीवन बिताएका थिए। उनी केही वर्षअघि संविधान दिवसको दिन सरकारले दिएको आम माफी पाएर जेलबाट छुटेका थिए।
जेलबाट छुटेपछि सुजन छिमेकमा मिलनसार देखिने गरेको स्थानीयवासी बताउँछन्। उनी शान्त स्वरमा सबैलाई ‘नमस्कार’ गर्ने गरेको छिमेकीहरूको भनाइ छ।
जेठ १४, २०८२ बुधबार ११:०२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।