बुटवलमा पूर्वपतिद्वारा पत्नीसहित दुई छोरीको हत्या, संविधान दिवसको दिन पाएका थिए आममाफी

बुटवल : बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ। बुधबार बिहान भएको घटनामा एक आमा र उनकी दुई नाबालक छोरीहरुको हत्या भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाले घटनाको पुष्टि गर्दै ३१ वर्षीया दिपा बस्याल, उनकी दुई छोरीहरू सात वर्षीया स्नेहा ढकाल र चार वर्षीया हिमानी ढकालको शव भेटिएको जानकारी दिए।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३२ वर्षीय सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, अभियुक्त कोइराला मृतक दिपा बस्यालका पूर्व श्रीमान् हुन्।
दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन्।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर बसेकी दिपालाई उनकै पूर्व श्रीमान् कोइरालाले बुधबार बिहान करिब ४ बजेतिर आफ्नै घरमा बोलाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्याका लागि घरेलु हतियार हथौडा र चक्कुको प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले अभियुक्त सुजन कोइरालाको आपराधिक पृष्ठभूमि रहेको पनि बताएको छ। डीएसपी रानाका अनुसार, कोइरालाले विगतमा आफ्नै दाजुको हत्या गरी जेल सजाय भोगेका थिए। केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका हुन्।
जेठ १४, २०८२ बुधबार ०९:४७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।