जितेशको आक्रामक ब्याटिङमा बेंगलुरु पहिलो क्वालिफायरमा

काठमाडौं : जितेश शर्माको विस्फोटक ब्याटिङको बलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएलको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।
२२५ रनको विशाल लक्ष्य पछ्याउँदै बेंगलुरुले १८.४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। जितेशले ३३ बलमा अविजित ८५ रन बनाए, जसमा ८ चौका र ६ छक्का समावेश थिए।
विराट कोहली ५४ रनमा आउट भएपछि दबाबमा परेको बेंगलुरुका लागि जितेशले म्याच जिताउने इनिङ खेले। उनले ४९ रनमा जीवनदान पाएका थिए। दिग्वेश राठीको बलमा क्याच भए पनि त्यो नो बल ठहरिएको थियो।
लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए भने आवेश खान र आकाश सिंहले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले कप्तान रिषभ पन्तको अविजित ११८ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। मिचेल मार्शले ३७ बलमा ६७ रनको योगदान दिए।
बेंगलुरुका लागि नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए।
यो जितसँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै पञ्जाबपछि नेट रनरेटमा दोस्रो स्थान हासिल गर्यो। अब पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु तथा इलिमिनेटर खेलमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।
जेठ १४, २०८२ बुधबार ०८:३५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।