अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा, आवेदकको पछिल्लो पाँच वर्षको सामाजिक सञ्जालको गतिविधि अध्ययन गरिने

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा, आवेदकको पछिल्लो पाँच वर्षको सामाजिक सञ्जालको गतिविधि अध्ययन गरिने

काठमाडौं : अमेरिकी सरकारले विदेशस्थित आफ्ना सबै दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदन प्रक्रिया तत्कालका लागि अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ। ट्रम्प प्रशासन र अमेरिकी विश्वविद्यालयहरूबीच चुलिँदो तनावका बीच यस्तो निर्देशन आएको हो।

अमेरिकी गृह सुरक्षा मन्त्रालय तथा विदेश मन्त्रालयले संयुक्त रूपमा नयाँ भिसा आवेदकहरूको सामाजिक सञ्जाल, डिजिटल गतिविधि, तथा विगतको सम्पर्कहरूको गहिरो अनुसन्धान गर्नुपर्ने नीति अघि सारेका छन्। यस्तो अनुसन्धान सुरू गर्नुअघि समयावधि आवश्यक पर्ने भएकाले नयाँ आवेदनहरू केही समयका लागि स्थगन गरिएको प्रशासनको तर्क छ।

यो निर्णय सुरक्षा संवेदनशीलता र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पृष्ठभूमि प्रष्ट पार्न आवश्यक भएकाले लिइएको संयुक्त राष्ट्र अमेरिकी स्थायी प्रतिनिधि कार्यालयले जनाएको छ।

हार्वर्ड-सरकार विवादको असर
हार्वर्ड विश्वविद्यालय र ट्रम्प प्रशासनबीच पछिल्लो केही महिनादेखि विवाद चुलिएको छ। हार्वर्डले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने प्रक्रिया, प्राप्त गरिरहेको संघीय अनुदान र चीनलगायत देशहरूसँगको शैक्षिक सहकार्यको विषयमा सरकारले कडा अनुसन्धान थालेको हो।

ट्रम्प प्रशासनले हार्वर्डका करिब ३० वटा सरकारी कोषसम्बन्धी १०० मिलियन डलर मूल्यका सम्झौता समीक्षा गर्ने बताइसकेको छ। यो कदमले हार्वर्ड मात्र नभई विदेशी विद्यार्थीहरूबाट आर्थिक लाभ लिइरहेका अन्य विश्वविद्यालयहरू पनि दबाबमा छन्।

अब विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिले पछिल्ला पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल खाताहरूको विवरण दिनुपर्ने ट्रम्प प्रशासनको निर्देशन छ। यसले सुरक्षा निकायलाई उनीहरूको ‘डिजिटल प्रोफाइल’ अध्ययन गर्न मद्दत गर्ने अमेरिकी अधिकारीहरूको भनाइ छ।

भिसा स्थगन र सामाजिक सञ्जालको अनिवार्य जाँचले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा ठूलो अन्योलता ल्याएको छ। उच्च शिक्षाको गन्तव्यको रूपमा चिनिएको अमेरिका अब केहीको लागि अप्ठ्यारो गन्तव्य बन्दै गएको छ।

जेठ १४, २०८२ बुधबार ०८:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।