चीनको रासायनिक कारखानामा भीषण विस्फोट हुँदा पाँचको मृत्यु, छ जना अझै बेपत्ता

बेइजिङ : चीनको पूर्वी शानडोङ प्रान्तस्थित एक रासायनिक कारखानामा मंगलबार राति भएको भीषण विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
घटनामा १९ जना घाइते भएका छन् भने छ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। विस्फोट शानडोङ प्रान्तको युदाओ क्षेत्रस्थित युदाओ केमिकल कम्पनीमा राति ढिलोसम्म भएको हो।
घटनापछि आगो लागेपछि फैलिएको कालो धुवाँको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त फुटेजहरूमा भयावह आगोको लप्का र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखिन्छ।
घटनापछि उद्धारका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मी परिचालन गरिएको शानडोङ प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
उद्धारकर्मीहरूले तत्काल आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए भने घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ।
कम्पनीको आधिकारिक वेबसाइट अनुसार युदाओ केमिकल कम्पनीले कीटनाशक र औषधि उत्पादन गर्दै आएको थियो।
रसायनिक उत्पादन हुने ठाउँमा सुरक्षा मापदण्डको कडाइका लागि पटक-पटक चिनियाँ सरकारले निर्देशन दिँदै आएको भए पनि यस्ता दुर्घटनाहरू दोहोरिरहेकै छन्।
स्थानीय प्रशासनले घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा विस्फोटको कारण स्पष्ट नभए पनि विशेषज्ञ टोली घटनास्थलमा खटाइएको र प्रारम्भिक तथ्यांक सङ्कलन कार्य भइरहेको जनाइएको छ।
चीनमा यस्ता औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्, विशेषगरी रसायनिक उद्योगहरूमा सुरक्षा चूकका कारण। यसअघि पनि सन् २०१५ मा टियान्जिनमा भएको ठूलो रासायनिक विस्फोटले सयभन्दा बढीको ज्यान लिएको थियो।
जेठ १४, २०८२ बुधबार ०७:४८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।