संसदका दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण लगायतका प्रतिवेदनहरू पेश हुने कार्यसूची

संसदका दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण लगायतका प्रतिवेदनहरू पेश हुने कार्यसूची

काठमाडौं : सङ्घीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि तय गरिएको छ।

भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि मंगलबार कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित भएको थियो। आजका लागि संसद सचिवालयले विस्तृत सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने छन्। त्यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसैगरी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नेछन्। साथै युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ प्रस्तुत हुने कार्यसूची छ।

उता राष्ट्रियसभाको बैठकमा पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।

साथै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।

राष्ट्रियसभामा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या, तथा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।

जेठ १४, २०८२ बुधबार ०७:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।