चैत १५ को हिंसात्मक घटनाबाट पाठ सिकेन सत्ताधारी दल एमालेले

चैत १५ को हिंसात्मक घटनाबाट पाठ सिकेन सत्ताधारी दल एमालेले

काठमाडौं : काठमाडौंको शान्तिबाटिका र भृकुटीमण्डपजस्ता नजिकका दुई स्थानमा जेठ १५ मा फरक राजनीतिक ध्रुवका कार्यक्रमहरू  हुँदा सुरक्षा चुनौती बढेको छ। राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै राप्रपा, राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिले शान्तिबाटिकामा जनप्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेका छन्।

उता, गणतन्त्र दिवसको अवसर पारेर एमालेले भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्ने भएको छ। दुई कार्यक्रमबीचको दूरी जम्मा ३ देखि ४ सय मिटर मात्र भएकोले सुरक्षा निकायका लागि सुरक्षा मिलाउन चुनौती बढेको छ। 

चैत १५ मा यसैगरि एकैदिन राजावादी समूह र माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले कार्यक्रम गर्दा सुरक्षा चुक हुँदा तिनकुने क्षेत्रमा भएको राजावादी आन्दोलन हिंसात्मक भएको थियो। राजावादी आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने अर्बौंको क्षति भएको थियो।

उसैगरि जेठ १५ मा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिको संयुक्त आव्हानमा राजावादीहरूले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित आन्दोलन गर्दै छन्। त्यहि नजिकै सत्ताधारी दल एमालेले पनि कार्यक्रम राखेको छ। यस अगाडि नै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले जेठ १५ मा काठमाडौै एमालेले कब्जा गर्नुपर्छ भनेर उत्तेजित भाषण गरिसकेका छन्। यसले त्यो दिन थप सुरक्षा चुनौती बढाएको छ।  

गृह मन्त्रालयले भने सर्वसाधारणको सुरक्षामा कुनै सम्झौता नगर्ने दाबी गरेको छ। मन्त्रालयका सूचना अधिकारी रबिन्द्र आचार्यले उकेरासँग भने, ‘हामीले सबै सुरक्षा तयारी गरेका छौं, सकेसम्म जनमानस सुरक्षित हुने वातावरण बनाएका छौं।’

तर आन्दोलनका लागि अनुमति नलिइएकाले सुरक्षाकर्मी अन्योलमा छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले भने, ‘उहाँहरूको आन्दोलनबारे हामीलाई औपचारिक जानकारी आएको छैन। कुन ठाउँमा आन्दोलन हुने भन्ने पनि खुलेको छैन, तर हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौं।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पनि आन्दोलनबारे जानकारी मात्र आएको तर अनुमति माग्न कोही नआएको बताए। उनले भने, ‘चैत्र १५ को गल्ती दोहोर्याउन दिँदैनौं। सुरक्षा व्यवस्था चुस्त बनाउँदैछौं।’

उता, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरूले सभा गर्न अनुमति मागेको तर सरकारले नदिएको दाबी गरे। ‘शान्तिवाटिकामा सभा गर्न हामीले सुरुमा अनुमति मागेका थियौं, तर सरकारले नदिएको हो। अब अनिश्चितकालीन आन्दोलनमा किन चाहियो अनुमति?’ उनले प्रश्न गरे।

एमालेले भने शान्तिपूर्ण कार्यक्रम गर्न पाउँनु सबैको अधिकार भएको भन्दै अरुले कहाँ कार्यक्रम गर्छ भन्ने विषय महत्वपूर्ण नभएको बताएको छ। 'अरुले कहाँ किन आन्दोलन गर्न लागे त्यो हाम्रो बिषय भएन। संविधानले दिएको अधिकार प्रयोग गर्न पाउँनु पर्छ। १५ गते नेपाली जनताले गणतन्त्र ल्याएको दिन भएकोले हामीले भृकुटीमण्डपमा कार्यक्रम गर्न लागेका हौं,' एमालेका सचेतक महेश बर्तौलाले उकेरासँग भने।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले सबैलाई डर

गत जेठ ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेश कमिटीको कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए। । उनले १५ गते ११ बजेदेखी २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण गर्न कार्यकर्तालाई निर्देशन दिए। 'म साथीहरूलाई भन्नु चाहन्छु, निर्देशन पछि आउँछ। १५ गतेको लागि यहाँबाट उठ्ने बित्तिकै तयारीमा जुट्नुहोस्। तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारीमा बस्नुहोस्। यहाँको प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण पछि १५ गतेको तयारीमा लाग्नुहोस्,' उनले भनेका थिए। 

प्रधानमन्त्रीको यो अभिव्यक्तिको व्यापक आलोचना भयो। उनको यो अभिव्यक्तिले सर्वसाधरणमा समेत १५ गते ठूलै मुठभेड हुने डर छ। 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १२ मा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई आपत्तिजनक रहेको बताएका थिए। उनले प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक रहेको बताए।

राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। आयोगले देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदा हुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधीको शासन विपरीत भएको भनेको छ।

राप्रपाका प्रवक्ता शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति संविधान विपरीत रहेको भन्दै गम्भीर आपत्ती जनाए। उनले उकेरासँग भने- 'प्रधानमन्त्रीजीले दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेकोले आज बसेको संसद् बैठकमा हामीले यही बिषय उठाउन लागेका थियौं। तर हामीलाई बोल्न दिइएन। पछि त संसद बैठक स्थगित नै भयो।'

चैत्र १५ को हिंसक घटनाका घाइतेहरू पूर्ण रूपमा निको नहुँदै फेरि राजावादी आन्दोलनको घोषणा र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले स्थितिलाई थप जटिल बनाएको छ। जेठ १५ मा दुई विपरीत राजनीतिक शक्तिको आमनेसामने कार्यक्रमले तीनकुने घटनाको पुनरावृत्ति हुने आशंका व्यक्त गरिएको छ।

गत चैत्र १५ मा संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेको थियो। काठमाडौंको तीनकुनेमा भएको जनसभामा प्रहरीले व्यापक गोली प्रहार गरेको थियो।

प्रहरीको प्रतिवेदन अनुसार १५ गते एसएलआरबाट ८१ राउण्ड गोली प्रहार भएको थियो। साथै इन्सासबाट ६ राउण्ड, शर्ट गनबाट ३ राउण्ड, चिनियाँ पेस्तोलबाट २ राउण्ड, सशस्त्र प्रहरीले १८ राउण्ड र रबर बुलेट २०१ राउण्ड प्रहार भएको थियो। 
यस घटनामा २१ जनालाई गोली लागेको थियो। सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना गम्भीर घाइते भएका थिए। रेबिका खत्री अझै पूर्ण रूपमा निको भएकी छैनन्।

जेठ १३, २०८२ मंगलबार २२:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।