सार्वजनिक खरिद अनुगमन कार्यालय छानबिनमै रहँदा गजेन्द्र नारायण अस्पतालले साढे चार करोडको टेन्डर स्वीकृत गर्यो

काठमाडौँ : खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन र कारबाही गर्न लिखित निर्देशन दिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) गजेन्द्र नारायण सिंह अस्पतालमा भएको खरिदको छानबिनमै छ। तर अस्पताल प्रशासनले भने साढे चार करोडको टेन्डर स्वीकृत गर्दै मंगलबार सूचना निकाल्यो।
उकेराले अख्तियारको निर्देशन अनुसार छानबिन प्रक्रिया टुंगिएको हो या हैन भन्नेबारे सार्वजनिक खरिद अनुगमन कार्यालयमा बुझ्दा एक अधिकारीले नाम नलेख्ने सर्तमा कागजात माग गरेर छानबिन भइरहेको जानकारी दिए। अख्तियारले जुन जुन खरिद प्रक्रियाबारे छानबिन गर्न ठेक्का नम्बरसहित लिखित निर्देशन दिएको तीमध्ये दुई वटा टेन्डर अस्पतालले स्वीकृत गर्दै सार्वजनिक सूचना नै निकाल्यो।
उकेराले प्राप्त गरेको अख्तियारको पत्र अनुसार आयोगले २०८२ वैशाख ७ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई गजेन्द्र नारायण अस्पतालमा भएको खरिदको विषयमा ‘आवश्यक कारबाही गर्न’ पत्र पठाएको थियो। अख्तियारको पत्र अनुसार कार्यालयले वैशाख १० मा अस्पताल प्रशासनलाई पत्र पठाएको थियो।
गजेन्द्र नारायण अस्पतालले जेठ १३ गते मंगलबार टेन्डर स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै चार करोड ५८ लाख ४१ हजारको तीन वटा टेन्डर स्वीकृत गरेको सार्वजनिक सूचना नै निकाल्यो। यो मूल्य अभिवृद्धि कर सहितको रकमको स्वीकृत टेन्डर हो।
स्वीकृत तीन टेन्डरमध्ये अस्पतालले दुई वटा ‘इन्डोस्कोपी मेसिन’ र ‘फुल्ली इन्डो युरोलोजी सेटअप’को टेन्डर ‘हिमालयन मेडिकल टेक्नोलोजिज प्रालि’लाई दिएको छ। अस्पतालले ‘ल्याप्रोस्कोपिक टावर एन्ड अदर सप्लिमेन्ट्री इक्वीप्मेन्ट्स’को टेन्डर ‘कस्मिक इन्टरप्राइजेज’लाई दिएको छ। यी तीनमध्ये दुई वटा टेन्डर मिलेमतोमा अगाडि बढेको प्रस्टै देखिन्छ।
केही महिना अगाडि मात्रै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गजेन्द्रमा रहेका डा. श्रीराम तिवारीलाई हटाएर अर्का डा प्रकाश साहलाई प्रमुखको जिम्मेवारी दिएका थिए। साह गएपछि नै अस्पतालको मेसिन, औजार तथा उपकरणको खरिद प्रक्रिया अगाडि बढेको हो। साह यस अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्रमुख थिए।
उनले नै त्यहाँबाट काजमा बायोमेडिकल इन्जिनियर आयुश भट्टराईलाई ल्याएर स्पेसिफिकेसनमा नै सेटिङ गरेका हुन्।
दुई करोड ७० लाखको युरोलोजीको टेन्डर स्वीकृत
गजेन्द्र नारायण सिंह अस्पतालले जेठ १३ गते सार्वजनिक गरेको टेन्डर स्वीकृत गर्ने आशयको सूचनामा दुई करोड ७० लाख सात हजारमा खरिद गर्ने गरी ‘फुल्ली इन्डो युरोलोजी सेटअप’को टेन्डर ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’ले पाएको उल्लेख छ।
अस्पतालले जेठ २ गते प्राविधिक प्रस्तावको स्वीकृति तथा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी जारी गरेको सूचनामा यो टेन्डरको प्राविधिक मूल्याङ्कनको चरणमा ‘हिमालयन मेडिकल टेक्नोलोजिज प्रालि’ र ‘क्यापिटल इन्टरप्राइजेज’लाई छनोट गरेको थियो। यी दुई फर्म मिलेर यो खरिद प्रक्रिया मिलेमतोमा अनुसार नै अगाडि बढेको थियो।
‘फुल्ली इन्डो युरोलोजी सेटअप’को ठेक्का (आइएफबी) नम्बर ‘जीएनएसएच-एसएपीटीएआरआई-गुड्स-एनसीबी-११-०८१-८२’ हो। यो सार्वजनिक खरिद अनुगमन कार्यालयको छानबिनको दायरामा भएको टेन्डर हो।
गजेन्द्र नारायण अस्पतालले टेन्डरको प्राविधिक मूल्यांकनको चरणमा एउटा मात्रै सप्लायर्स कम्पनीलाई छनोट गरेका उदाहरण छँदैछन्। तर, सबै टेन्डरहरूमा ‘एकल’ टेन्डर मात्रै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दा खुला रूपमा मिलेमतो देखिने भएपछि यसमा योजना अनुसार नै दुई वटा फर्मको प्रयोग भएको देखिन्छ।
त्यसैले जेठ ९ गते आर्थिक प्रस्ताव खुलेको यो टेन्डरमा मिलेमतो अनुसार नै ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’लाई आर्थिक मूल्यांकनको चरणमा छनोट गरेको देखिन्छ। मिलेमतो अनुसार नै उसैले टेन्डर पायो पनि। यसरी मिलेमतो अनुसार हुने टेन्डरमा जसलाई टेन्डर दिने हो उसलाई केही कम मूल्यमा टेन्डर प्रस्ताव गर्न लगाइन्छ, अनि मिलेमतो योजना अनुसार प्रयोग भएको टेन्डर ‘पार्नु नपर्ने’ फर्मलाई बढी मूल्य प्रस्ताव गर्न लगाइन्छ।
मिलेमतो योजना अनुसार कम मूल्य कबुल गरेको भन्दै कम मूल्य कबुल गर्न लगाइएको फर्मलाई टेन्डर दिइन्छ। यसरी खरिदमा प्राविधिक र आर्थिक दुवै चरणमा मिलेमतो हुने गरेको देखिन्छ।
एकल छनोट गरेर ‘इन्डोस्कोपी मेसिन’को टेन्डर स्वीकृत
अस्पतालले जेठ १३ गते नै टेन्डर स्वीकृत गर्ने आशयको सूचनामा ८९ लाख २७ हजारमा खरिद गर्ने गरी ‘इन्डोस्कोपी मेसिन’को टेन्डर समेत उल्लेख छ। यो पनि ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’ले पाएको छ।
अस्पतालले जेठ २ मा नै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दै सूचना जारी गरेको ‘इन्डोस्कोपिीमेसिन’को टेन्डरको प्राविधिक मूल्याङ्कनमा एउटा मात्रै सप्लायर्स कम्पनी ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’लाई छनोट गरेको थियो।
यो टेन्डरको जेठ ९ गते नै आर्थिक प्रस्ताव खुल्ने मिति तोकिएको थियो। प्राविधिक मूल्यांकनको चरणमा नै एउटा मात्रै सप्लायर्स कम्पनी छानिएपछि उसैले टेन्डर पाउने पक्कापक्की थियो नै। एउटा मात्रै सप्लायर्स कम्पनीलाई प्राविधिक मूल्यांकनको चरणमा छनोट गरिएकाले यो टेन्डर मिलेमतो अनुसार नै अगाडि बढेको पुष्टि हुन्छ।
यसरी प्राविधिक मूल्यांकनको चरणमा नै मिलेमतो अनुसार नै ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’लाई मात्रै एकल छनोट गरेर गजेन्द्र नारायण अस्पताल नेतृत्वले उसैलाई टेन्डर स्वीकृत गरेको प्रस्ट देखिन्छ।
‘इन्डोस्कोपी मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘जीएनएसएच-एसएपीटीएआरआई-गुड्स-एनसीबी-०७-०८१-८२’ हो। यो पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको छानबिनको दायरामा भएको टेन्डर हो।
७६ ‘ल्याप्रोस्कोपिक टावर स्वीकृत
त्यसैगरी अस्पतालले जेठ १३ मै ७६ लाखमा खरिद गर्ने गरी ‘ल्याप्रोस्कोपिक टावर एन्ड अदर सप्लिमेन्ट्री इक्वीप्मेन्ट्स’को टेन्डर ‘कस्मिक इन्टरप्राइजेज’लाई स्वीकृत गरेको सूचना जारी गरेको छ।
अस्पतालले जेठ २ गते प्रकाशित गरेको सूचना अनुसार यो टेन्डरको प्राविधिक मूल्यांकनको चरणमा ‘नोभाबायोइन्टरमेडिक्स प्रालि’, ‘पोस्ट मेडिकल इन्टरनेश्नल प्रालि’ र ‘कस्मिक इन्टरप्राइजेज’ गरी तीन वटा सप्लायर्स कम्पनी छनोट भएका थिए।
‘इन्डोस्कोपी मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘जीएनएसएच-एसएपीटीएआरआई-गुड्स-एनसीबी-१३-०८१-८२’ हो।
जेठ १३, २०८२ मंगलबार २२:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।