टीयू क्रिकेट रङ्गशालाको प्यारापिट ढलानको काम सुरू

कीर्तिपुर : त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा प्यारापिटको ढलान कार्य आजबाट सुरु भएको छ।
रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना अनुसार जेठ महिनाभित्रै पहिलो चरणका सबै काम सक्ने लक्ष्य राखिएको सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठले जानकारी दिए।
पहिलो चरणमा रङ्गशालाको पश्चिम र पूर्वतर्फ गरी जम्मा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण भइरहेको छ। यो प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र तीमध्ये आज पहिलो भागको ढलान सुरू गरिएको हो।
कण्ठले भने- ‘प्रयोगशालाबाट परीक्षण गरेर गुणस्तर सुनिश्चित गरिएको कङ्क्रिटमाथि विशेष ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ, किनभने यहाँको सतह धेरै घोटिने हुन्छ।’ भूगोलअनुसार पश्चिम र दक्षिणतर्फको जमिन मैदानभन्दा अग्लो भएकाले त्यहाँ जमिनमै पिसिसी गरी ढलान गरिएको छ भने पूर्वतर्फ पिलर उठाएर स्लोप मिलाइएको छ।
प्यारापिट निर्माणसँगै रातिको खेलका लागि आठवटा फ्लडलाइट पनि जडान हुँदै छन्। आज निरीक्षण गर्न रङ्गशालामा पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले सबै काम गुणस्तरीयरूपमा र समयमा सम्पन्न गर्न निर्देशन दिए।
जेठ १३, २०८२ मंगलबार २१:१०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।