भैरहवा विमानस्थलको तीतो सत्य : आन्तरिकतर्फ उडान छ सुविधा छैन, अन्तर्राष्ट्रियतर्फ सुविधा छ उडान छैन

बुटवल : एकातिर आलिशान तर सुनसान अन्तर्राष्ट्रिय टर्मिनल, अर्कोतिर व्यस्त तर जीर्ण आन्तरिक टर्मिनल। भैरहवाको विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि यस्तै दृश्य देखिन्छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा आलिशान ठूलो भवनमा प्रस्थान कक्ष र लगेज चेकजाँच लेखिएका बोर्डहरू झुण्डिएका छन्। सफा र सुविधासम्पन्न यो भवनमा केही प्रहरीहरू मात्र ओहोरदोहोर गरिरहन्छन्। भवन र बाहिर चारैतिर सुनसान छ। जग्गा अधिग्रहण सहित ४३ अर्ब लगानी गरिएको यस अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले कुनै उडान छैन।
अन्तर्राष्ट्रिय टर्मिनल नजिकैको आन्तरिक टर्मिनलको भने एकदमै फरक अवस्थामा छ। यो जीर्ण भवन साँघुरो र पुरानो मात्र छैन, यहाँ अस्तव्यस्त छ र आधारभूत सुविधा समेत छैन। भवन बाहिर भत्किएको सडक छ। न राम्रो प्रतीक्षालय छ, न राम्रो शौचालय नै।
दैनिक १५ वटा भन्दा बढी उडान हुने यस टर्मिनलमा यात्रुको चाप उस्तै भएपनि भवन जीर्ण बन्दै गएको छ। बाहिर धुलाम्मे छ। भवन बाहिर ट्रली सजिलै गड्दैन। प्रतीक्षालय भएपनि नाममात्रको छ। खानेपानी र शौचालय पनि बाहिर नाममात्रका छन्। विमानस्थलमा आफन्त वा परिवार लिन जानेहरूका लागि प्रतीक्षालयमा आराम गर्न सकिँदैन। पानी परेको बेला झनै समस्या हुन्छ। भवनमा समेत पानी चुहिन्छ। भवनमाथि ट्रस राख्ने भनिए पनि अहिले अलपत्र छ।
यस विषयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रभुराम थापाले ट्रस निर्माणको ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रिया सुरु भएको बताए। उनले स्तरोन्नतिको काम अब छिट्टै हुने बताए। 'अराईभल सानो छ। नजिकैको कार्गोको आधा भवन लिएर टर्मिनल बढाउने योजना अघि बढेको छ। शौचालय पनि थप हुनेछ। यसो भएमा यात्रुसबैलाई सहज हुनेछ। यी काम अगाडि बढ्ने चरणमा छन्,' उनले भने।
०२१ सालको घाँसे मैदान र ०५५ सालमा गौतम बुद्ध नामाकरण गरिएको यो विमानस्थल वि.स. २०७९ वैशाखमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भएको थियो।
काठमाडौंबाट भैरहवासम्म विमानमा आउने धेरै पर्यटकहरू यहाँबाट लुम्बिनी जान्छन्। तर पर्यटकले पहिलो नजरमै धुलो देख्छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनीकी पूर्व अध्यक्ष रचना पन्तले आन्तरिक टर्मिनललाई स्तरउन्नती भएमा पर्यटकहरू र आम सेवाग्राहीले सहज सेवा पाउने बताइन्। 'पर्यटक विमानस्थलबाट बाहिरिदै गर्दा जसरी उनीहरूलाई आकर्षित पार्नुपर्ने हो। त्यो देखिदैन। उनीहरूले विमानस्थल बाहिर अस्तव्यस्त देख्छन्। बाहिर आएपछि एक केहिबेर लागि शीतलता प्राप्त गर्न समेत राम्रो प्रतिक्षालय छैन। यो विडम्बना हो,' उनले भनिन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सह-प्रवक्ता ज्ञानेन्द्र भूलले आन्तरिक उडानतर्फको टावर नयाँ भएपनि टर्मिनल भवन पुरानो हुँदा यात्रुलाई बस्न असहज भएको स्विकारे। उनले आन्तरिक टर्मिनलको स्तरउन्नतीमा आफूहरू ध्यान गएको दाबी गरे।
अहिलेको नयाँ अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनल बनाउने, त्यहाँबाट विमान उडान-अवतरण गराउने र अन्तर्राष्ट्रिय टर्मिनलका लागि दोस्रो चरणमा बन्ने भवन प्रयोग गर्ने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ। तर दोस्रो चरणको भवन बन्ने अनिश्चित हुँदा यो योजना अघि बढेको छैन।
विमानस्थलमा दोस्रो टर्मिनल भवन (टी-२), एप्रोन लगायतका पूर्वाधार निर्माणको कामलाई दोस्रो चरण भनिएको छ। यसका लागि बजेट तीन वर्षअघि नै ३ अर्ब ५४ करोड विनियोजन भएपनि काम भने अघि बढेन। हाल अन्तर्राष्ट्रिय उडान गर्ने भवन पहिलो चरणमा बनेको भवन हो।
व्यवसायी, जनप्रतिनिधि र राज्यका सरोकारवाला निकायहरूले अन्तर्राष्ट्रिय उडानका लागि बारम्बार आवाज उठाएको भएपनि आन्तरिक टर्मिनलको स्तरउन्नतीका लागि कसैले खबरदारी गरेका छैनन्। सरकारले समेत आन्तरिक टर्मिनललाई वेवास्ता गरिरहेको छ।
जेठ १३, २०८२ मंगलबार २०:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।