जल तथा मौसम विभागमा पुगेर प्रधानमन्त्रीले लिए मनसुन तयारीबारे जानकारी

जल तथा मौसम विभागमा पुगेर प्रधानमन्त्रीले लिए मनसुन तयारीबारे जानकारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर आउँदो मनसुनसँग सम्बन्धित पूर्वानुमान, सम्भावित विपद् जोखिम र तयारीबारे प्रत्यक्ष जानकारी लिएका छन्।

विभागले यस वर्ष गत वर्षभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि प्रधानमन्त्रीले सूचना प्रणाली कति प्रभावकारी छ र जनधनको क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे चासो देखाए।

विभागको प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र सूचना प्रवाह जनताले सजिलै बुझ्ने गरी सरल भाषामा सम्प्रेषण गर्न निर्देशन दिए। साथै, सबै स्टेशनहरू चुस्तदुरुस्त राख्न, बाढीपहिरोको उच्च जोखिम भएका स्थानहरूको पहिचान गरी स्थानीय तह, सुरक्षाकर्मी र सञ्चार माध्यममार्फत अग्रिम रूपमा सुसूचित गर्न पनि आग्रह गरे।

विभागका महानिर्देशक कमलराम जोशीका अनुसार यस वर्षको मनसुन यही जेठ १८ गते सुरू भएर असोज १४ सम्म रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशको उत्तरी भाग तथा कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री तहबाट पहिलोपटक विभागको स्थलगत अनुगमन भएकोमा खुशी व्यक्त गर्दै जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा र अन्य उच्च अधिकारीहरू पनि अनुगमनमा सहभागी थिए।

जेठ १३, २०८२ मंगलबार १९:५०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।