सांसद सरोज कुमार सिंहका स्वकीय सचिव भ्रष्टाचारको आरोपमा पक्राउ

जनकपुर : मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
आयोगको टोलीले सोमबार जनकपुरधाम उपमहानगरपालिका–९, सरस्वती टोलबाट दिउँसो १ बजे उनलाई पक्राउ गरेको हो। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै स्वकीय सचिव कायस्थमाथि सांसद सिंहको निर्देशनमा सार्वजनिक रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान थालिएको जनाएको छ।
सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाएर ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएको प्रमाण भेटिएको छ।
त्यसैगरी, कायस्थको व्यक्तिगत खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
कायस्थलाई नियन्त्रणमा लिएपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका केही विद्युतीय उपकरणहरू पनि बरामद गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
जेठ १३, २०८२ मंगलबार १८:४७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।