घटनाको गहिराइ नबुझी राजीनामा माग्नु गलत प्रवृत्ति हो : डा. मिनेन्द्र रिजाल

घटनाको गहिराइ नबुझी राजीनामा माग्नु गलत प्रवृत्ति हो : डा. मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले पछिल्ला राजनीतिक बहसहरू घटनाको मूल विषयभन्दा व्यक्तिको राजीनामामा केन्द्रित हुने प्रवृत्तिलाई गलत भनेका छन्।

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि घटना बाहिर आउँदा त्यसको गहिरो अध्ययन नगरी सतही बहस हुने र सोझै राजीनामाको माग उठ्ने प्रवृत्तिले सञ्चार जगतलाई नै असर गर्ने बताए।

‘घटनाहरू निस्किएपछि मूल विषयभन्दा राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने बहसले प्राथमिकता पाउँछ,’ उनले भने, ‘यो प्रवृत्ति गम्भीर विषयहरूलाई छायाँमा पार्ने खतरा बोकेको छ।’

डा. रिजालले गृहमन्त्री रमेश लेखकमाथि भइरहेको बहस मात्र होइन, अघिल्ला केही घटनाहरूमा पनि यस्तै प्रवृत्ति देखिएको उल्लेख गर्दै थपे, ‘अहिलेको घटनामा मात्रै होइन, अघिल्लो समयमा भएका चार–पाँच वटा मुद्दामा पनि यही ढाँचाको बहस भयो। घटनाको मूल मर्म के हो भन्नेभन्दा राजीनामा भयो कि भएन, संसद चल्छ कि चल्दैन भन्ने विषयले प्राथमिकता पायो।’

उनको भनाइमा सञ्चारमाध्यमको प्रमुख भूमिका सत्य र तथ्य सार्वजनिक गर्ने हो, सतही विश्लेषण गरेर मुद्दाको मूल सन्दर्भ ओझेलमा पार्नु होइन। ‘सञ्चारको जिम्मेवारी भनेको सत्य तथ्य उजागर गर्नु हो,’ उनले भने, ‘सतही रूपमा नहिँडौं।’

जेठ १३, २०८२ मंगलबार १७:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।