जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुने कमल थापाको दाबी

जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुने कमल थापाको दाबी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन्। 

मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवं सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।

उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताए। 

उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्याउने र निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिरहेका छौ। राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौ। देशका विभिन्न जिल्लाहरूमा र काठमाडौं केन्द्रित विरोध प्रदर्शन एवम संघर्षका कार्यक्रमहरू सञ्चालन गरिरहेका हौं।’

यस्तै, उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए। 

‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन्। यसमा आवद्ध भएका ३५ दल र समूहहरुको मात्र आन्दोलन पनि होइन्। यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रुपमा अघि बढाउने हाम्रो प्रयास हो। यसमा आम जनताको सहभागिताका लागि आह्वान गरेका छौं। र काठमाडौं बाहिरबाट पनि धेरै ठूलो संख्यामा जनताको सहभागिता हुने आशा लिएका छौ। आन्दोलन कुनैपनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन्। आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो,’ उनले भने। 

जेठ १३, २०८२ मंगलबार १६:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।