संसदबाहिर पनि माओवादी र रास्वपाको एकै स्वर, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, गृहमन्त्रीले राजीनामा’

काठमाडौं : प्रतिपक्षी दलहरूले भिजिट भिसारुपी मानव तस्करी प्रकरणमा प्रधानमन्त्रीको जवाफ र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै संसद भवन बाहिर बोलेका विपक्षी दलका सांसदहरूले संसदमा प्रधानमन्त्रीको जवाफ र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रश्न उठिसकेपछि गृहमन्त्रीले सदनमा जवाफ नभई राजीनामा दिनुपर्ने बताए।
उनले भने, ‘अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन। राजीनामा दिनुपर्छ। राजीनामा हाम्रो प्रष्ट माग छ। त्योभन्दा दायाँबायाँ हुँदैन।’
उनले गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढाउन नदिने बताए। उनले यो सरकार बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको विषय समेत स्मरण गराए।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले स्थापित गरेको विषय आफूले सदनमा स्मरण मात्रै गराएको बताए। आफैँले बोलेको मानकअनुसार लेखकले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।
‘अब उहाँले नै स्थापित गर्नुभएको संसदमा बोलेको कुरा हो, कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर, अब यसमा प्रधानमन्त्रीले जवाफ र गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ। हामी गृहमन्त्रीलाई जवाफ दिन दिँदैनौँ। उहाँ अब छानबिनमा रहनुपर्छ।’
उनले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको विषय भएकाले उच्चस्तरीय आयोग बनाउनुपर्ने अडान दोहोर्याए।
जेठ १३, २०८२ मंगलबार १४:०३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।