स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘थ्री ए’ रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘थ्री ए’ रेटिङ

काठमाडौं : नेपालमा सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले आइसीआरए नेपालबाट छैटौं पटक पनि ‘थ्री ए’क्रेडिट रेटिङ प्राप्त गरेको छ।

यो रेटिङले बैंकको वित्तीय दायित्व पूरा गर्न अत्यन्त उच्च सुरक्षाको संकेत गर्छ, जसमा लगानी जोखिम न्यूनतम हुने मानिन्छ।

सुदृढ पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता, र सम्पत्तिको गुणस्तर यस पटक पनि थ्री ए रेटिङ पुनः पुष्टि हुने प्रमुख आधार रहेको बैंकको दाबी छ।

चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर-१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

बैंकको नन-पर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गका बैंकहरूको औसत ५.०५ प्रतिशतभन्दा निकै कम हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हेड अफ कभरेज गोरख राणाले भने, ‘छैटौं पटक थ्री ए रेटिङ प्राप्त गर्नु सेवाप्रतिको हाम्रो निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रमाण हो।’

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा करिब ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यो बैंक हाल देशभर न्यूनतम लागतमा निक्षेप संकलन गर्ने अग्रणी संस्था बनेको छ।

जेठ १३, २०८२ मंगलबार १३:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।